बैशाख १९, २०८२ शुक्रबार

कचनकवलमा खानेपानी विस्तार तीब्र

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार गरेको छ । जसले स्थानीय बासिन्दालाई स्वच्छ पानी उपभोग गर्ने अवसर प्रदान गरेको छ ।

यसै आर्थिक वर्षमा पालिकाले पुनः १ करोड १५ लाख रुपैयाँको अनुदान प्राप्त गरेको थियो । जसअनुसार ९२ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भइसकेको छ । बालुबाडी र बनियानी क्षेत्रमा प्रत्येक घरमा खानेपानीको पाइपलाइन जडान गरिसकिएको छ । साथै, आर्सेनिकयुक्त पानीको समस्या समाधान गर्न शुद्ध पानी वितरण अभियान सञ्चालन भइरहेको छ ।

पालिकाले गत वर्ष खरिद गरेका पाइपहरू सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको छ । अघिल्लो वर्ष ठूला पाइप विस्तारमा केन्द्रित पालिका अब वडा नम्बर १, ३,४ मा २०८२ सालभित्र खानेपानी सञ्चालन गर्ने लक्ष्य लिएको छ । हाल ती वडामा पाइप जडान तथा खन्ने कार्य जारी छ, जसका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत श्रमिक परिचालन गरिएको छ ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, पालिकाले खानेपानी पूर्वाधार निर्माण मात्र नभई गुणस्तरीय वितरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । ‘हामी प्रत्येक नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यमा छौं । विगतमा मुख्य पाइपलाइन विस्तारमा केन्द्रित थियौं, अब प्रत्येक टोल र घरधुरीमा पानीको सुविधा पु¥याउने अभियानमा छौं,’ उनले भने ।

उनका अनुसार, वडा २ र ४ मा पनि खानेपानी विस्तारको काम भइरहेको छ भने वडा नम्बर ५ मा ओभरहेड ट्याङ्की निर्माण कार्य सकिएपनि फिल्टर नभएकाले संचालनना आएको छैन । संघीय सरकारसँग थप सहयोग माग गरिएको छ र पालिकाले आगामी बजेट तथा नीति कार्यक्रममा पाठामारी खानेपानी आयोजना समावेश गरी कार्यान्वयन गर्ने तयारीमा छ ।

केवल पाइप विस्तार गरेर मात्र खानेपानी समस्या समाधान हुँदैन, पानी स्रोतको दिगो व्यवस्थापन जरुरी छ । त्यसैले, हाम्रो पालिका जलस्रोत संरक्षणका कार्यक्रमहरूमा पनि सक्रिय हुँदैछ, उपाध्यक्ष भट्टराईले भने ।

गाउँपालिकाले “घर–घरमा स्वच्छ पानी“ अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न स्रोतसाधन परिचालन गरिरहेको छ । खानेपानी उपभोक्ता समितिहरू तथा प्रदेश सरकारअन्तर्गतका निकायहरूसँग सहकार्य गर्दै ओभरहेड ट्याङ्कीहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

हाल कचनकवलमा बनियानी, बालुबाडी र सुकुनाडीमा खानेपानी ट्याङ्की सञ्चालनमा छन् । चाँडै वडा ३ मा एचटी लाइन तथा ट्रान्सफर्मर जडान गरिनेछ । कोशी प्रदेश सरकारका सिँचाइ तथा ऊर्जा मन्त्रीले अवलोकन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

स्रोतसाधनको अभावका बीच पनि गाउँपालिका स्थानीय बासिन्दालाई स्वच्छ पानी आपूर्ति गर्न प्रतिबद्ध रहेको उपाध्यक्ष भट्टराईले बताएका छन् । साथै, पालिकाले समुदायलाई खानेपानी सरोकारमा सचेत बनाउन विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

‘खानेपानी मात्र उपलब्ध गराउनु हाम्रो उद्देश्य होइन, जनताले सुरक्षित र स्वास्थ्यकर पानी पिउन सकुन् भन्ने सुनिश्चित गर्नुपर्छ । त्यसैले, पानी सरसफाइका विषयमा जनचेतना अभिवृद्धि गर्न हमी लागिपरेका छौं,’ उपाध्यक्ष भट्टराईले थपे ।

गाउँपालिकाले आगामी वर्षभित्र दुई नयाँ खानेपानी योजनाहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ । पालिकाका अनुसार यी योजनाहरू पूरा भएपछि करिब ९० प्रतिशत घरधुरीमा प्रत्यक्ष रूपमा खानेपानीको सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]