झापाका जनप्रतिनिधिहरुद्वारा पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता
बिर्तामोड । झापाका अधिकांश जनप्रनिधिहरुले सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले झापाली पत्रकारहरुमाथि असन्तुष्टि जनाउदै सूझावहरु व्यक्त गरेका छन् ।
बुधबार झापाको बिर्तामोडमा आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सञ्चारकर्मीको भूमिका पनि सच्याउन आवश्यक रहेको बताए ।
पत्रकारहरुले सबै क्षेत्रलाई खवरदारी गरिरहेको भए पनि आफ्नो क्षेत्रलाई फर्केर नहेरेको धारणा राखे । पत्रकारिता क्षेत्रमा धेरै सच्याउनुपर्ने विषयहरु रहेको बताउँदै जनप्रतिनिधिहरुले पत्रकार महासंघले त्यसका लागि योजनावद्ध रुपमा लाग्नुपर्ने सूझाव दिएका छन् । उनीहरुले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिदैं पत्रकारहरुले पालिकाले गरेका राम्रा कामलाई भन्दा स–साना त्रुटीहरुलाई बाहिर ल्याउने गरेको गुनासो गरे ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले कार्यविधी बनाएर स्थानीय सञ्चारमाध्यमको सवलीकरणमा सहयोग गरिरहेको जानकारी दिए । पालिकाले सञ्चारक्षेत्रका लागि ५० लाख बजेट बिनियोजन गरी काम गरिरहेको जानकारी दिए । सञ्चारकर्मीहरुले पालिकाहरुले गरेका राम्रा कामलाई समेत प्राथमिकता दिनुपर्ने र कुनै त्रुटी भए त्यसलाई समेत औँल्याइदिन उनले आग्रह गरे ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकार पलायन भएको विषयमा प्रश्न गरेकी छन् । पत्रकारको हकहितका लागि छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । समाचार भ्युजका लागि हैन बिषयवस्तुमा आधारित हुनुपर्नेमा उनको जोड थियो ।
संविधान विरोधी गतिविधीको पत्रकारले डटेर खण्डन गर्नुपर्ने भन्दै पत्रकारहरुको संरक्षण र सवलीकरणमा पालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सञ्चारमाध्यममा नकारात्मक कुराले बढी स्थान पाउने गरेको भन्दै गुनासो गरे । बुद्धशान्ति गाउँपालिकामा खोला र हात्तीको बढी समस्या भएपनि त्यस तर्फ कसैले कलम नचलाउने तर जनप्रतिनिधीहरुको राजनीतिक भविष्य नै समाप्त गर्ने गरी पत्रकारले समाचार सम्प्रेषण गर्ने गरेको सुनाए । पालिकाले गरेका राम्रा कामलाई स्वाहा पार्ने गरी समाचार बनाउनुको साटो सत्यतथ्य सम्प्रेषण गर्न आग्रह गरेका छन् । कुनै बिषयमा समाचार सम्प्रेषण गर्दा पालिकासँग समन्वय गरिदिन उनले आग्रह समेत गरे ।
त्यस्तै, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय सरकारले थुप्रै राम्रा काम गरेपनि नकारात्मक काम मात्र बाहिर आउने गरेको बताए । पत्रकार आचारसंहितालाई कडाइका साथ लागू गराउन नेपाल पत्रकार महासंघलाई उनले आग्रह गरेका छन् ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सञ्चारकर्मीहरु राजनीतिक दलको प्रवक्ता नबन्न आग्रह गरिन् । समाचारमा सत्यतथ्य बुझेर सकारात्मक र नकारात्मक दुवै आउनु पर्नेमा उनले जोड दिइन् ।
सरकारप्रति जनताको नैराष्यता बढाउने कुरामा सञ्चारकर्मीहरुको पनि भूमिका रहेको भन्दै उनले दुखेसो पोखिन् । कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले जनप्रतिनिधीहरुलाई केहि सञ्चारकर्मीले एकोहोरो खेदो गर्ने तर आफ्नो आलोचना सम्प्रेषण गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले राष्ट्रियतालाई कमजोर बनाउने समाचार लेख्न नहुनेमा जोड दिए । जुनसुकै दलको राष्ट्रप्रमुख भएपनि नकारात्मक समाचारहरु बाहिर आउँदा त्यसले राष्ट्रियता कमजोर बनाउनुका साथै स्वाधिनतामा समेत खलल पुग्ने बिचार व्यक्त गरे ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विचार विहीन पत्रकारिता गर्नुपर्ने औँल्याए । आफ्नो विचार मिल्ने जनप्रतिनिधीलाई देवत्वकरण गर्ने र विचार नमिल्नेलाई खुइल्याउने काम भइरहेको भन्दै असन्तुष्टि पोखे । उनले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए । भद्रपुरले सञ्चारमा २० लाख रुपैँया बजेट बिनियोजन गरिएको र प्रेस क्लबसँग समन्वय गरि काम गरिरहेको बताए ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले विचारविहीन पत्रकारिता भएमात्र निष्पक्ष हुन सक्नेमा जोड दिए । पालिकाले यस बर्षबाट उत्कृष्ट विकास पत्रकारिता पुरस्कार शुरुवात गर्न लागिएको जानकारी दिए ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पत्रकारले राम्रो कुराको खोजी गर्नुपर्ने बताइन् । सञ्चारमाध्यमले उपाध्यक्ष-उपप्रमुखलाई महत्व नदिने गरेको उनको गुनासो थियो । जनप्रतिनिधीको पनि कमजोरी भए सच्चिने र पत्रकारहरुले पनि सच्चिनुपर्ने उनको भनाई थियो ।
उनले पालिकाको बजेट विकासमा बढी खर्च गर्नुपर्ने भएकाले सञ्चार क्षेत्रलाई धेरै दिन नपुग्ने बताइन् । उनले स–सानो बिषयमा खुइल्याउने भन्दै पत्रकारमाथि विश्वास नभएको उनले बताइन् ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले घरैपिच्छे सामाजिक सञ्जाल चलाउने पत्रकार भएको र घर झगडा गराउने गरेको भन्दै गुनासो गरिन् ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिकाले सञ्चारमा ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए । पालिकाले प्रकाशन गर्ने सूचना राष्ट्रिय सञ्चारमाध्यमलाई नै दिनुपर्ने भन्ने ऐन भएकाले चाहेर पनि स्थानीयमा दिन नसकिएको गुनासो गरे । उनले महासंघले यस्ता बाध्यकारी ऐन संसोधनका लागि पहल गरिदिन आग्रहसमेत गरे ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष माधव विद्रोहीले जनप्रतिनिधीहरुले दिएको सुझाव मनन्योग्य भएको भन्दै त्यस तर्फ महासंघले पहल गर्ने बताए । उनले सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको बिचमा जनप्रतिनिधीले फरक छुट्याउनुपर्ने बताउँदै मुलधारको सञ्चारमाध्यममा तल्लोस्तरका समाचार प्रकाशन नहुने धारणा राखे ।
कार्यक्रममा झापाको मेचीनगर र गौरीगञ्जबाहेक अन्य पालिकाका प्रमुख तथा उपप्रमुख र केहि पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा हस्ताक्षर गरी उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा झापा शाखाको समन्वयमा भएको कार्यक्रमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गरेको हो ।
पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले झापाको सञ्चारमाध्यमको बिषयमा जानकारी गराउनुका साथै जनप्रतिनिधीहरुको सुझाव र अपेक्षा मागेका थिए । कार्यक्रम पत्रकार महासंघ कोशीकी महासचिव हिमा चेम्जोङले सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष अम्बिका भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।