बीमाबाट साउनयता ६५ हजार बिरामीले लिए उपचार सेवा
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा सेवा सुविधा प्रभावकारी भएपछि विरामीहरुको चाप बढ्दै गइरहेको छ । दैनिक ४ सयभन्दा धेरै नगरवासीले उपचार सेवा पाइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
नगर अस्पतालको स्वामित्व ग्रहण गरेपछि सेवा समेत थप गरिएको थियो । उपचार सेवा विस्तार भएसँगै स्थापनाकालदेखि सेवाग्राहीको संख्या उल्लेख्य रहेको मेसु डा. सुनिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विरामीहरुलाई सकेसम्म उपचार सेवामा कुनै पनि कञ्जुस्याई गरिएको छैन ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म बिर्तामोड नगर अस्पतालमा ७७ हजार ७ सय ८२ जनाले उपचार सेवा लिएका छन् । प्राप्त विवरण अनुसार नगद मार्फत १२ हजार ७ सय ७३ जनाले सेवा लिएको अस्पतालका कर्मचारी बसन्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा सेवा मार्फत ६५ हजार ९ जनाले सेवा लिएका छन् ।
बिर्तामोड नगर अस्पतालमा बीमा मार्फत उपचार सेवा लिनेको संख्या अत्याधिक रहेको विवरणले पुष्टि गरेको छ ।
नगर अस्पतालमा बीमा सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा ,सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नि तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडि सेवाहरु उपलव्ध छन् । प्रसुती सेवा सुरु भएपछि १३१ जनाले सेवा लिइसकेका छन् ।
भौतिक संरचनामा समेत सम्पन्न बनाउनका लागि बिर्तामोड नगरको थप एक नयाँ भवन निर्माण भइरहेको छ । अस्पताललाई १५ शैयाबाट २५ शैयामा स्तरोन्नति गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।
भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने नगरपालिकाको योजना रहेको छ । १५ करोड ३४ हजारको लागतमा बनिरहेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौँले लिएको छ । यसअघि पाँच करोड ५० लाखको लागतमा १५ शैयाको भवन निर्माण गरिएको थियो ।
अस्पतालमा गत माघदेखि नै इमर्जेन्सी सेवा सुरु भइसकेको छ । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने गरेको छ । बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ । अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ ।
२४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।