अर्जुनधारामा वडास्तरीय क्रिकेट : वडा नम्बर ७ र ८ विजयी
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडास्तरीय टि- 20 नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी बनेका छन्।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ४६ रनले पराजित गर्यो। वडा नम्बर ७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा टस जितेर वडा नम्बर ७ विरुद्ध पहिले फिल्डिङ रोजेको वडा नम्बर ६ ले २० ओभरमा ९ विकेट लिएर १३९ रन खर्चियो ।
१४० रनको लक्ष्य पाएर जवाफी ब्याटिङ उत्रिएको वडा नम्बर ६ले उत्कृष्ट ब्याटिङ गर्न सकेन । वडा नम्बर ६ ले १९ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो।
आजको पहिलो खेलमा चार ओभरमा १४ रन खर्चेर चार विकेट लिन सफल वडा नम्बर ७ का प्रखर कटुवाल म्यान अफ दि म्याच घोषित भए । उनले ब्याटीङ तर्फ ३३ बलमा ४३ रन प्रहार गरेका थिए।
त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर ५ विरुद्ध वडा नम्बर ८ ले ९९ रनको फराकीलो विजय हासिल गर्यो। खेलमा वडा नम्बर ५ ले टस जितेर फिल्डिङ रोजेको थियो। सुरुवाती ब्याटिङ गरेको वडा नम्बर ८ले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन जोडेको थियो। ।
१६५ रनको लक्ष्य पाएको वडा नम्बर ५ ले फितलो जवाफी ब्याटिङ गर्दा नतिजा गुमाउन पुग्यो। वडा नम्बर ५ ले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ६५ रन मात्रै जोड्न सक्यो।
दोस्रो खेलमा वडा नम्बर ८ का अलराउन्डर चन्द्र भट्टराई म्यान अफ दि म्याच घोषित भए। उनले ब्याटिङ तर्फ २४ बलमा २९ रन प्रहार गरेका थिए। बलिङ तर्फ तीन ओभरमा चार रन खर्चेर ३ विकेट लिएका थिए ।
आजको दुवै खेलमा म्यान अफ दि म्याच चुनिएका खेलाडीहरूले नगद १ हजार पुरस्कार पाए । पहिलो खेलको म्यान अफ दि म्याचलाई अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी र दोस्रो खेलको म्यान अफ दि म्याचलाई प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।
खेलाडी उत्पादनसंगै अर्जुनधारा नगरपालिकामा वडास्तरमा रहेका खेलाडीहरूको पहिचान गरी अर्जुनधारा नगरपालिकाको स्तरीय क्रिकेट टिम निर्माणका लागि प्रतियोगिता सञ्चालन गरिएको अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
चैत्र २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलोक्वाटर फाइनल खेलमा वडा नम्बर १ ले वडा नं २ विरुद्ध प्रतिस्पर्धा गर्नेछ। त्यस्तै भोलि हुने दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो दिनको खेलमा पहिलो खेलमा वडा नं २ ले वडा नम्बर ११ लाई चार विकेटले पराजित गरेको थियो भने, दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १०लाई १ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।