कामाटोली र सुरुङ्गामा कृषि उपज वस्तुको खरिद बिक्री केन्द्र स्थापना
झापा । उत्पादित कृषि उपज वस्तुको बजारीकरणमा समस्या झेलिरहेका कृषकलाई लक्षित गरेर झापा गाउँपालिकास्थित कामाटोली र कन्काई नगरपालिकाको सुरुङ्गामा कृषि उपज वस्तुको खरिद बिक्री केन्द्र स्थापना गरिएको छ ।
बजारीकरणको समस्या खेपिरहेका कृषकलाई लक्षित गरेर साधना संस्कृति नमुना कृषि फर्म प्रालिले कामाटोली र सुरुङ्गास्थित कृषि बजारमा किसानद्वारा उत्पादित तरकारी फलफुल तथा नर्सरीको खरिद तथा बिक्री केन्द्र स्थापना गरेको हो ।
कामटोली बिक्री केन्द्रको एक कार्यक्रमका बीच प्रमुख अतिथि झापा गाउँपालिकाको कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले बुधबार उद्घाटन गरेकी छिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक रुपमा तरकारी खेती गर्ने तथा घर गाउँमा थोरै जग्गामा कृषि उपज उत्पादन गरेर बजारको समस्या झेलिरहेका किसानलाई स्थापना गरिएको बिक्री केन्द्रले सघाउ पुर्याउने आशा व्यक्त गरिन् ।
उनले भोलिका दिनमा बिक्री केन्द्रले राम्रो काम गर्न सके र किसानलाई यसबाट लाभ हुन सके गाउँपालिकाले पनि सहयोग गर्ने बचन दिइन् ।
उनले झापाको दक्षिणी क्षेत्रमा रहेको झापा गाउँपालिकाका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुले उचित मूल्य नपाइरहेको सन्दर्भमा स्थापना गरिएको बिक्री केन्द्रले धेरै ठूलो सघाउ पुर्याउने आशा व्यक्त गरिन् ।
त्यस्तै साधना संस्कृति नमुना कृषि फर्मका सञ्चालक चन्द्र बस्नेतले बजारको समस्या झेलिरहेका कृषकहरूलाई लक्षित गरेर खरिद बिक्री केन्द्र स्थापना गरिएको बताए ।
स्थापना गरिएको बिक्री केन्द्रले पालिका क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरूको उचित मूल्यमा खरिद गर्ने र सर्वसुलभ मूल्यमा उपभोक्तालाई बिक्री गर्ने जानकारी दिए । कृषि पेशाप्रति कृषकहरूलाई आकर्षण गर्दै बजारीकरणमा सघाउ गराउने उद्देश्यले पहिलो चरणमा कामको सुरुवात गरिएको उनले बताए ।
गाउँमा उत्पादित तरकारी फलफुल त्यसैगरी विभिन्न प्रजातिका फलफुल, फूलका बिरुवा कृषकले उचित मूल्यमा पाउने उनको भनाइ छ ।
आर्गनिक तरकारी उपभोक्ताले सर्वसुलभ मूल्यमा आफ्नै ठाउँमा खरिद गर्न पाउँदा उपभोक्तालाई पनि स्वास्थ्यसँगै आर्थिक भार कम पर्न जाने बताइएको छ ।
कार्यक्रममा झापा गाउँपालिका ३ का वडाध्यक्ष सुवासलाल गणेश माओवादी केन्द्र झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाईं लगायतले शुभकामना मन्तव्य राख्दै किसान लक्षित बिक्री केन्द्र स्थापना गरिएको भन्दै साधना संस्कृति नमुना फर्मको प्रशंसा गरेका थिए ।