जेष्ठ ३, २०८२ शुक्रबार

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

ढोरपाटन – आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।
बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ ।
मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ ।
मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताउनुभयो । मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार  ११ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]