टिकटकमाथि प्रतिबन्धको म्याद ७५ दिन थप
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताउनुभएको छ । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उहाँको दाबी छ ।
उहाँले सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गर्नुभएको थियो ।
गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।