संसदीय समितिले भन्यो – झापा इनर्जी विकासको नमूना परियोजना
झापा । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सस्यहरुले झापामा सञ्चालित सौर्य उर्जा परियोजना विकासको नमूना भएको धारणा व्यक्त गरेका छन् ।
सोमवार शिवसताक्षी –४ बुलोचोकस्थित झापा इनर्जीको प्लान्ट अनुगमन गर्दै समितिका सदस्यहरुले सौर्य उर्जा उत्पादन गरेर झापाबासीले विकासको नमूना प्रस्तुत गरेको धारणा राखेका थिए । विकासमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने भन्दै उक्त परियोजना प्रेरणादायी भएको प्रतिक्रिया दिए ।
समिति सदस्य सिता मिजारले अमेरिकामा देखेको प्लान्ट आफ्नै देशमा देख्न पाउँदा खुशी लागेको बताइन् । उनले यस प्रकारका परियोजनाले उर्जा मार्फत राष्ट्र निर्माण र रोजगारी सिर्जनामा मद्दत पुग्ने धारणा राखेकी थिइन् ।
सांसद् एलपी साँवाको नेतृत्वमा आएको संसदीय समितिमा कान्तिका सेजुवाल, डोल प्रसाद अर्याल, मनबहादुर गुरुङ, रुक्मणी राना बराइली, सीता मिजार रहेका छन् ।
उक्त परियोजनाका बारेमा झापा इनर्जीका अध्यक्ष एलपी साँवाले जानकारी दिएका थिए । ४ वर्ष अघि सुरु गरिएको परियोजना ८७ करोड लागत सञ्चालन गरिएको जानकारी दिए । २२ विगा क्षेत्रफलमा रहेको सौर्य उर्जा परियोजना १६ महिनाअघि उद्घाटन गरिएको थियो ।
चैतभन्दा अघि दैनिक ३०-४० हजार यूनिट र चैतयता दैनिक ५० हजारभन्दा धेरै यूनिट उर्जा उत्पादन भइरहेको साँवाले जानकारी दिए । नागरिकको लगानी रहेको परियोजनामा बैंकको समेत कर्जा रहेको साँवाको भनाई थियो । ७ रुपैयाँ ३० पैसाले प्रति यूनिट विक्री सम्झौता गरिएको समितिका सदस्यहरुलाई जानकारी गराइएको छ । झापा इनर्जीले आइपीओ खोल्ने तयारी गरिरहेको जानकारी दिइएको छ ।
समितिले झापा इनर्जीसहित एकैदिन दुई वटा परियोजनाको अनुगमन गरेको हो । झापा, मोरङ, सुनसरी र उदयपुरमा अनुगमन गर्ने कार्यसूची रहेको बताइएको छ ।
झापा आएको पहिलो दिन सोमवार समितिले नेपाल आयल निगम चारआलीमा अनुगमन गरेको छ । दिउँसो जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा आयोजित अन्तरक्रियापछि टोली झापा इनर्जीको परियोजना हेर्न शिवसताक्षी – ४ बुलोचोक पुगेको थियो ।
टोलीलाई झापा इनर्जीका प्रवन्ध व्यवस्थापक सुवास भट्टराई, शिवसताक्षीका नगर प्रमुख रोशन थोप्रा, वडाध्यक्षहरु सिकिन पासवान र विष्णु प्रसाईले स्वागत गरेका थिए ।
चैत २८ गतेसम्म सो समितिले कोशी प्रदेशमा तीन दिनसम्म अनुगन गर्ने कार्यतालिका छ । सम्बन्धित मन्त्रालय, विभाग र अन्य निकायबाट सम्बादन भएको कामको अनुगमन तथा मुल्याङकन गरी आवश्यक निर्देशन दिने अधिकार समितिलाई छ । यसै क्रममा कोशी प्रदेशका उधोग तथा भन्सार कार्यालयहरुको अनुगनमन गरिने सांसद साँवाले जानकारी दिए ।
समितिले अनुगमनपछि समस्या तथा त्यसका कारणहरुको पहिचान गरी समाधानका उपायहरु खोजी गर्ने जनाइएको छ ।