अर्जुनधारामा उत्कृष्ट छोरी–बुहारीलाई सम्मान
शनिश्चरे । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा नगरसमितिले नयाँ बर्षको अवसर पारेर आज एक कार्यक्रमका बीच १० जना उत्कृष्ट छोरी – बुहारीहरुलाई सम्मान गरेको छ ।
समाजद्वारा अर्जुनधारा जलेश्वरधामको श्रवण हलमा आयोजित छोरी–बुहारी सम्मान कार्यक्रममा आफ्नो घर परिवारका वयोवृद्ध बाबु – आमा, सासु – ससुराहरुलाई सत्कारको भावले सम्मान, राम्रो हेरचाह गर्ने बुहारीलाई प्रत्येक वडाबाट १÷१ जना छनौट गरी १० जनालाई उत्कृष्ट छोरी–बुहारीको रुपमा सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष शेखरनाथ अधिकारीको सभापतित्व र निवर्तमान अध्यक्ष रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सावित्रा खनाल, निरकुमारी श्रेष्ठ, अम्बिका पराजुली, चन्द्रकला घिमिरे, सुमित्रा पिठाकोटे, भवता खड्का, कुन्ता प्रसाई, बिन्दादेवी पनेरू, सरिता मरठा घिमिरे र माया राउतलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
वडा नम्बर–६ बाट छनौट गरेको नाम सिफारिस नआएकोले १० जनालाई मात्र सम्मान गरिएको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सचिव पौडेलको संचालन रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष नरेन्द्र तिम्सिनाले बुहारी सम्मानको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई ,विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका –७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सुर्यमाला पन्धाक, मिलन समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम, शनिश्चरे प्रहरी चौकीका असई नेत्रप्रसाद चम्लागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । वि. सं. २०७४ सालदेखि संस्थाले ११ वटै वडाबाट १-१ जना उत्कृष्ट छोरी –बुहारीहरुलाई सम्मान गर्दै आएको छ ।