झापामा रगत संकलनभन्दा वितरण धेरै
नेत्रविक्रम विमली
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा झापामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६,३२५ युनिट रगत सङ्कलन भएको छ ।
झापाको भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसंचार केन्द्र मार्फत सोही अवधिमा १७,२३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्तसंचार सेवा केन्द्र झापा शाखाले जनाएको छ ।
नेपाल सोसाइटी जिल्ला शाखा झापाकोले रेडक्रस भवन भद्रपुर बिर्तामोड रेडक्रस भवन र बिएण्डसी मेडिकल कलेजमा गरी तीन ठाउँमा रक्त सञ्चार सेवा सञ्चालन गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले उपशाखा भवन, लाइफ लाइफलाइन अस्पताल र आम्दा अस्पतालमा समेत रक्तसंचार सेवा सञ्चालन गर्दै आएको छ ।
रक्त सञ्चार सेवा केन्द्र झापा मार्फत गत साउनदेखि चैत मसान्त सम्ममा १०,२९६ युनिट रगत सङ्कलन गरेको छ भने सोही अवधिमा ११४९० युनिट रगत वितरण गरेको जिल्ला शाखा झापाका प्रमुख हरिशरण खड्काले जानकारी दिएका छन् ।
त्यसैगरी नेपाली सोसाइटी उपशाखा दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा ६०२९ युनिट रगत सङ्कलन गरेको छ भने ५७७४ युनिट रगत बिरामीको लागि वितरण गरिएको रक्तसंचार दमक इन्चार्ज ओमा श्रेष्ठले जानकारी दिएकी छन् ।
रक्त संसार सेवा केन्द्र झापाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०÷० ८१ मा १८१६८ युनिट रगत सङ्कलन गरिएको थियो भने १९ हजार ८४२ युनिट रगत बिरामीको लागि वितरण गरिएको थियो । सोही अवधिमा जिल्ला शाखा झापाबाट सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत १३,५१० युनिट र सङ्कलन हुँदा १५,५७६ युनिट रगत वितरण गरिएको थियो भने दमक रक्तसञ्चार सेवा मार्फत ८०८१ मा ४,६५८ युनिट रगत संकलन हुँदा ४२६६ युनिट रगत वितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले २०३९ सालदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने दमक उपशाखा मार्फत २०५३ सालदेखि रक्त सेवा केन्द्र सञ्चालन गरिँदै आएको छ । झापामा सञ्चालित ६ वटा रक्तसंचार सेवा केन्द्र मा २६ जना प्राविधिकहरूले काम गर्दै आएका छन् ।