बैशाख १९, २०८२ शुक्रबार

शिरो सान्दाइले समवेदनामा सुनाउन नसकेको त्यो मृत्यु

रविकिरण वान्तावा राई

एक दिन बिर्तामोडका चर्चित समाजसेवी तथा व्यवसायी बिनोद बस्नेतको बुवा कृष्णबहादुर बस्नेत बित्नु भएको खबर शिरो सान्दाइसम्म आइपुगेछ । त्यसमाथि सान्दाइ बिर्तामोडबाट प्रसारण भइरहेको एक एफएमको लोकप्रिय कार्यक्रम प्रस्तोता । उहाँलाई लागेछ यो समाजमा प्रतिष्ठित छवि बनाएका व्यक्तिहरुका बुवा कृष्ण बहादुर । जस्का छोराहरु राजनीतिक हैसियतले पनि केन्द्रमा राम्रै पहुज राख्छन् । स्वयं कृष्णबहादुर पहाडमा गन्नेमान्ने व्यक्तिहरु मध्ये एक हुनुहुन्थ्यो । त्यस्ता लोकप्रिय व्यक्तिको समवेदना सामान्य तवरले कार्यक्रममा प्रसारण गरेर हुदैन । त्यसैले दुई पेज जति समवेदनाका शब्दहरु खर्चिएर कार्यक्रमको स्कृप्ट तयार पार्नु भएछ ।

साझ ७ बजे अन्य थुप्रै समवेदना सहित बिशेष महत्वका साथ बिनोद बस्नेतका बुवा बित्नु भएको खबर कार्यक्रममा प्रसारण गर्नु भएका छ । संयोग पनि कस्तो त्यसै दिन पहाडबाट झापा झर्नु भएका बिनोदका बुवाले सोहि कार्यक्रम सुनिरहनु भएको रहेछ । आफ्नै मृत्युको खबर एफएम मार्फत प्रसारण हुँदा खैलाबैला मच्चिएछ र स्वयं सान्दाइलाई पनि त्यस घटनाले गाह्रो बनाएको यादगार अनुभव उहाँसँग अझै ताजा रहेछ । धेरै लामो समयपछि बस्नेत परिवारभित्र कै सदस्य नरबहादुरको सहजीकरणमा कृष्ण बहादुर बा सहित उनका परिवारसँग भुलबस भएको त्यस घटनाले उत्पन्न गरेका दाग बिस्तारै निको हुदै गएछ ।

अहिलेको सामाजिक सञ्जालमा जस्तो सहजता थिएन पच्चिस तीस बर्ष अगाडी कसैको मृत्यु थाहा भएर पनि समवेदना प्रकट गर्न । त्यतिखेर एउटै मात्र माध्यम थियो कञ्चनजंग एफएमबाट प्रसारण हुने कार्यक्रम ‘समवेदना’ । जसको माध्यमबाट हामी आफन्त वा छरछिमेकीको मृत्युको खबर समवेदनाका शब्दगुच्छा सहित टाढा टाढासम्म पुर्याउन सक्थ्यौ । पूर्वका झापा, इलामसँग जोडिएका जिल्लाहरु सहित मेची पारी पश्चिम बंगालका नेपाली भाषीहरु माझ लोकप्रिय थियो यो कार्यक्रम । उक्त कार्यक्रमको प्रस्तोता हुनुहुन्थ्यो प्राध्यापन पेशा गरिरहनु भएका शिरो सान्दाइ खतिवडा ।

उही शिरो सान्दाइलाई धेरै समयपछि पुनः एक पटक साक्षात्कार गर्दै सुन्ने अवसर मिलेको थियो । कार्यक्रमको व्यवस्थापन मिलाएको थियो प्रेस चौतारी नेपाल, झापा शाखाले । सभाहलको स्टेज तिर शिरो सान्दाइको फोटो अंकित व्यानरमा लेखिएको थियो ‘अग्रजलाई सुनौ’ । उमेरका पाइलाहरुले बहत्तरौ पहाडलाई पछाडि छाड्दै हिडिरहनु भएका सान्दाइ, रेडियोमा काम गर्दाका आफ्ना पुराना अनुभवहरु हलमा उपस्थित सबैसँग साझा गरिरहनु भएको थियो ।

२०५९ सालतिर भरखर भरखरै प्रसारणमा आएको थियो कञ्चनजंगा एफएम । व्यवस्थापनको अनुरोधमा उहाँले पनि एफएममा एउटा कार्यक्रम चलाउनु पर्ने भयो । कार्यक्रमको आइडिया अनुसार ड्राफ्ट तयार भए पछि फाइनल स्कृप्ट लिएर पहिलो पटक कार्यक्रम सञ्चालन गर्न स्टुडियो प्रवेश गर्दाको डर अझै पनि महसुस गर्नुहुन्छ उहाँ । बन्द कोठाभित्रको माइक अगाडी हेडफोन लगाएर कार्यक्रम चलाउनु पर्दा शरिर नै कापिरहेको थियो रे । पेसाले प्राध्यापक त्यसमाथि सामान्यतय अलिअलि भाषणहरु गरेको अनुभव, स्टुडियोबाट तत्काल कार्यक्रम नै नचलाई निस्कन पनि स्वभिमानले दिएनछ ।

जसोतसो कार्यक्रम चलाई सकेर डरले काम्दै गरेको शरिर लिएर स्टुडियोबाट बाहिर निस्कन साथ एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले अंकमाल गर्दै बधाई दिनु भएछ । उसै गरी प्राविधिक प्रमुख जुली भण्डारी र कार्यक्रम प्रमुख दिपेन्द्र पौडेल लगायत अन्य त्यहाँ उपस्थित सहकर्मी मित्रहरुले कार्यक्रम असाध्यै राम्रो भएको भन्दै बधाई दिएको त्यो दिन अझै पनि सम्झनु हुन्छ उहाँ ।

“समवेदना सुखको कार्यक्रम हैन यो त दुःख र बेदनाको कार्यक्रम हो । बेदनाको कुरामा स्वर निन्याउरो, मलिन र रुञ्चे नभए के हुन्छ त ?” भन्दै सान्दाइलाई प्रबन्ध निर्देशक चन्द्र भण्डारीले हौसला सहितको सुझाव दिनु भएछ । त्यसपछि पहिलो पटक डरले काम्दै रुञ्चे रुञ्चे स्वरमा पढेको समवेदनाहरु कालान्तरसम्म कार्यक्रम समवेदनाको प्रस्तुती शैली नै बनेको रमाइलो किस्सा उहाँले सुनाउनुभयो ।

बिनोद बस्नेतको बुवा बितेको भनेर झुटो समवेदना कसरी कार्यक्रमा प्रसारण गर्न पुग्नु भयो त ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ “आफुले बिश्वास गरेको व्यक्तिबाट गलत जानकारी पाएका कारण त्यस्तो भएको हो ।” यस्ता गलत जानकारीका कारण पुन ः सान्दाइ अपठ्यारोमा परेको अर्को प्रसंग पनि रहेछ । भए छ के भने, बाहुण्डाँगी भृकुटीका एक व्यक्ति वित्नु भएको खबर समवेदनामा प्रसारण गर्नु भएछ । इलाम फिक्कल र याङमा बसोबास गरिरहेका उहाँका छोरीज्वाई सहित आफन्तहरु रातारात गाडि रिजव गरेर झापा झर्नु भएछ । तर, मृतक भनिएको व्यक्तिलाई सकुशल देख्दा उहाँहरु आश्चार्यमा पर्नु भएछ ।

यस्ता गलत जानकारीका कारण दुई चार वटा समवेदनाहरु कार्यक्रममा प्रसारण भएको थाहा पाएपछि सान्दाइले समाजका जिम्मेवार व्यक्तिहरुबाट प्राप्त समवेदनाहरु मात्र रेडियोमा प्रसारण गर्न थाल्नु भएछ । प्राप्त सामग्रीको स्रोत पनि खुलाउन थाल्नु भएछ । यी दुई प्रतिनिधि घटनाहरुले सान्दाइलाई अपठ्यारोमा पारे पनि अघिल्लो घटनामा जति भृकुटी घटनामा भने त्यति तनाव झेल्नु नपरेको अनुभव सुनाउनु हुन्छ, उहाँ ।

बस्नेत परिवारसँग सम्बन्ध सुधार भएपछि भने कृष्ण बहादुर बा सँग सान्दाइको भेट भइरहन्थेछ । यसरी भेट भएको बेला उहाँले त्यहि समवेदनाका घटना कोट्याउदै भन्नु हुन्थ्यो रे “म मरेको बेला कार्यक्रममा समावेश गर्न त्यो भन्दा धेरै सामग्री सङ्कलन त गरेको होलास् नि ?” तर अपसोच सान्दाइ दुःख पोख्दै भन्नु हुन्छ “उहाँ स्वर्गारोहण भएको दिन मेरो रेडियो सुतेको थियो । मैले उहाँको मृत्युलाई प्रसारण गर्न सकिन ।”

अहिले सान्दाइ कार्यरत एफएम बन्द छ । अनि उहाँको समावेदना पनि । तर, उहाँलाई सम्झनेहरु धेरै छन् । समावेदनाको माध्यमबाट लाखौ लाख श्रोताहरु उहाँको नामसँग परिचित भइसकेका छन् । मेचीवारी मात्र नभई मेचीपारी बसोबास गर्ने उहाँका प्रशंसकहरु अहिले पनि कञ्चनजंगाको तरंग मार्फत तैरिदै आउने समवेदनाको पर्खाइमा छन् । तर, कञ्चनजंगा अहिले कोमामा छ । उसले पैदा गर्ने तरंगहरु निष्कृय भइसकेका छन् र सान्दाइको समवेदना क्वारेनटाइनमा चुपचाप थलिरहेछ । आशा छ, उहाँलाई एकदिन सब निको हुनेछ ।

प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]