राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ, १९ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराउनुभयो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने दस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सक्ने पनि जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते दिउँसो १२ः१५ मा बस्नेछ ।