खुल्न थाले सामुदायिक विद्यालय
बिर्तामोड । झण्डै एक महिनासम्म बन्द गरिएको सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा गरिएको शैक्षिक हड्तालपछि बन्द भएका विद्यालयहरु आइतवारबाट नियमित रुपमा सञ्चालन हुने भएका छन् ।
सरकार र शिक्षकबीच ९ बुँदे सहमति भएपछि विद्यालयमा भर्नाको काम अघि बढाइएको बिर्तामोडस्थित देवी माविको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । आन्दोलन सकिएपछि विद्यालयको नियमति कामहरु अघि बढाइएको उहाँको भनाई छ । विद्यार्थीहरुलाई नतिजा वितरण गर्ने, भर्ना गर्ने र किताव वितरणको काम सुरु गरिएको प्रअ श्रेष्ठले जानकारी दिनुभयो ।
एक महिनासम्म सुनसान भएका सामुदायिक विद्यालयमा चहलपहल सुरु भएको छ । शुक्रवारसम्म पातलो गरी विद्यार्थीहरु आइरहेको देखिएका छन् । आइतवारदेखि विद्यार्थीका संख्या बढ्ने प्रअ श्रेष्ठको भनाई छ । शुक्रवार देवी माविमा अभिभावकहरु छोराछोरीलाई भर्ना गर्न, किताव लिन आएका थिए । कतिपय अभिभावकहरुले नियमित पठनपाठनबारे अनविज्ञता प्रकट गरेका छन् ।
देवी माविका सहायक प्रअ लक्ष्मी प्रसाद भण्डारीले अभिभावकहरुलाई छोराछोरी विद्यालय पठाइदिन आग्रह गरेका छन् । उनले आन्दोलन सकिएको बताउँदै विद्यालय नियमित सञ्चालन हुने जानकारी दिए ।
झापासहित देशभरका सामुदायिक विद्यालयहरुमा शिक्षक कर्मचारीहरु फर्किसकेका छन् । आइतवारदेखि विद्यालय पूर्ण रुपमा सञ्चालन हुने बुझिएको छ ।