बैशाख २१, २०८२ आईतबार

मेचीनगरमा लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न योजना बनाउँदै

मेचीनगर, २० बैशाख । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ ।

नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग शुक्रबार र शनिबार कार्यशाला गरेको छ ।

पूर्वी नाका खुल्ला बोर्डर भएका कारण लागूऔषधको मुख्य कारोबार गर्ने ठाउँको रुपमा काँकरभिट्टा चिनिने गर्छ । मेचीनगरका धेरै युवायुवतीहरु लागूऔषधमा फसेका छन् ।

स्कुल र कलेज पढ्ने विद्यार्थी, यातायात व्यवसायी, मजदुर, कर्मचारी लगायत ठुला घरानाका धेरै युवाहरु लागूऔषधको सेवन गर्ने, कारोवार गर्ने र बिक्री वितरणमा लागेका छन् ।

यसैको रोकथामका लागि नगरपालिकाले आगामी ३ वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, लागूऔषध व्युरो, महिला सञ्जाल, शिक्षक, लागूऔषध न्युनिकरण सम्बन्धी काम गर्ने संघ–संस्था, यातायात व्यवसायी लगायतसँग पहिलो चरणको कार्यशाला गरेको छ ।

सामुदायिक विकास मञ्च मेचीनगर–६ ले सहजीकरण गरेको कार्यशालामा करिव ४० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहभागीलाई रणनीतिक कार्य योजना निर्माणका विषयमा विषय विज्ञ लोकपृय खनालले सहजकर्ताको भूमिका निभाएका थिए ।

कार्यशालाका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न तीन वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
उनले फसेका युवाहरु, त्यसमा भर्खर लाग्दै गरेका र अब त्यसमा लाग्न नदिन प्रत्यक घरका आमाहरुलाई सचेत गराउन आवश्यक रहेको बताए ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख सम्भुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न दुईदिने कार्यशालाको सहजीकरण सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सदस्य गोविन्द न्यौपाने लगायतले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]