कनकाई क्याम्पस बिर्तामोडका ११ जना प्राध्यापक आफ्नै पूर्वविद्यार्थी
प्रदीप परियार
बिर्तामोड । नर्सरीदेखि डिग्रीसम्म अध्ययन गर्न पाइने बिर्तामोडको कनकाई आदर्श क्याम्पसले आफ्नो उत्पादनलाई नै रोजगारी प्रदान गर्ने रणनीति लिएको छ । आफ्नो उत्पादनको गुणस्तरीयतामाथि पूर्ण विश्वस्त रहेको क्याम्पस प्रशासनले प्राध्यापक छनौटमा आफ्नै पूर्वविद्यार्थीहरुलाई प्राथमिकता दिँदै आएको छ ।
बिर्तामोड-५ मा रहेको कनकाई क्याम्पसमा ५० जना प्राध्यापक कर्मचारीहरु रहेका छन् । क्याम्पस प्रमुख सुरेश चापागाईका अनुसार त्यसमध्ये ११ जना प्राध्यापकहरु आफ्नै क्याम्पसका पूर्वविद्यार्थीहरु रहेका छन् । उनले आफ्नो क्याम्पसको उत्पादनबारे आफूहरुलाई राम्रो जानकारी हुने भन्दै प्राध्यापक छनौट गर्दा प्राथमिकता दिने गरेको बताए । ‘हामीलाई हाम्रा विद्यार्थीको क्वालिटी कस्तो छ भन्ने कुरा जानकारी छ’, क्याम्पस प्रमुख चापागाईं भन्नुहुन्छ, ‘क्वालिटी थाहा भएकै कारण पूर्वविद्यार्थीहरुलाई नै क्याम्पसमा रोजगारी दिएका छौँ ।’
कनकाई क्याम्पसमा अध्ययन गरेका शेखर शर्मा, रचना शर्मा, चन्द्र प्रसाद चौंलागाई, झुना उप्रेती, रुजा ओली, अमर गुभाजु, नन्दकुमार कोइराला, प्रदीप दाहाल, जीवन रिजाल, गोविन्द खतिवडा, नवराज रेग्मी प्राध्यापन गरिरहेका छन् । उनीहरु कनकाईमा म्यानेजमेन्ट, फाइनेन्स, अकाउन्ट, अंग्रेजी, अर्थशास्त्र विषयमा प्राध्यापन गरिरहेको क्याम्पस प्रमुख चापागाईंले जानकारी दिए ।
कनकाई क्याम्पसमा मास्टर्स पूरा गरेका अमर गुभाजु अहिले प्राध्यापकको रुपमा कार्यरत छन् । उनले ८ वर्षदेखि कनकाई क्याम्पसमा पढाइरहेका छन् । आफू अध्ययन गरेको क्याम्पसमा काम गर्न पाउदा गुभाजुले खुशी व्यक्त गरे । उनले भने, ‘आफूलाई पढाउने सरहरुसँगै काम गर्दा एउटै परिवार, अभिभावकको अनुभूति पाएका छौं । कतिपय कठिनाईहरुमा सरहरुले सहजै सहजीकरण गरिदिनु हुन्छ ।’
शिक्षण पेशा आफ्नो रुचिको विषय भएकाले पनि निरन्तर प्राध्यापनमा क्रियाशिल रहेको उनको भनाइ छ । ‘पूर्वविद्यार्थी भन्दैमा कुनै दबाब प्रभाव हुँदैन, घर जस्तै हुन्छ’, उनले थपे, ‘पढाईपछिको रोजगारीले सन्तुष्ट छु ।’ क्याम्पस प्रमुख चापागाइर्ंले बिर्तामोडसहित विभिन्न ठाउँमा रहेको बैंक वित्तीय संस्था, इन्स्योरेन्सहरुको कुर्सीमा आफ्नै विद्यार्थीहरु देख्दा खुशी लाग्ने सुनाए । ‘जताततै हाम्रै विद्यार्थीको नेतृत्व प्राय: छ’, उनले भने, ‘यो हाम्रो लागि गौरवको कुरा हो, अरु त के नै चाहिँदो रहेछ र ?’ कार्यालयहरुमा जाँदा कोही न कोही आफ्नै विद्यार्थी भेटिन्छ, खुशी लाग्छ ।
२०३५ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तह २०५४ र स्नातकोत्तर २०६२ देखि पठनपाठन सुरु भएको थियो । अहिले स्नातक तहमा १५ सय ५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसले प्राध्यापनका लागि अन्य जिल्लाहरुबाट प्राध्यापक ल्याउनुपर्ने बाध्यता नरहेको जनाएको छ ।