बैशाख २१, २०८२ आईतबार

बिर्तामोडको कृषिथोकमा जुहारी : ‘भ्रष्टाचार’ आरोपप्रत्यारोपमा उत्रिए दुई अध्यक्ष

प्रदीप परियार

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको कृषिथोक बजार व्यवस्थापन समितिको पूर्वअध्यक्ष कमल पौडेल र वर्तमान समितिका अध्यक्षबीच जुहारी सुरु भएको छ । दुई पक्षको जुहारीले बजारलाई गिजाल्ने काम भइरहेको व्यवसायीहरुको धारणा छ ।

निवर्तमान अध्यक्ष पौडेलले वर्तमान समितिमाथि भ्रष्टाचारको आरोप लगाएपछि हालका अध्यक्ष निरज ओलीले पनि पौडेल नेतृत्वमाथि अनियमितता गरेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विभाग हरिहर भवन ललितपुरलाई लेखेको पत्रबारे भ्रम छरिएको वर्तमान अध्यक्ष ओलीले स्पष्ट पारेका छन् । कृषिथोक बजार बिर्तामोडलाई अख्तियारको कुनै पनि पत्र नआएको अध्यक्ष ओलीको भनाई छ । उनले बिर्तामोडको सन्दर्भमा हरिहर भवनलाई लेखिएको पत्रबारे भ्रम छर्ने काम भइरहेको जनाए ।

अख्तियारमा कृषि बजार बिर्तामोडको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा आफु खुशी सामग्री खरिद गरेको र बजारको आम्दानी समेत हिनामिना गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरी बारे कृषि विभागलाई अख्तियारले पत्र लेखेको हो ।

कृषिथोक बजार व्यवस्थापन समितिले भ्रष्टाचार गरेको भन्दै अख्तियारले पत्र लेखेको बजारमा फैलिएको छ । निवर्तमान अध्यक्ष पौडेलले वर्तमान अध्यक्षलाई कारबाही गर्न अख्तियारको इटहरी कार्यालयले कृषि भिागलाई पत्र लेखेको बताउँछन् । उनले निर्देशिका बमोजिम अध्यक्ष ओलीलाई निलम्बन एवम् पदमुक्त गर्नुपर्ने एक अनलाईनलाई अन्तर्वार्ता दिएका छन् ।

आफ्नो कार्यकालमा बजार व्यवस्थापन तथा निर्माणका लागि डिपिआर गरेको उनको भनाई छ । कृषि विभाग, बिर्तामोड नगरपालिकाबाट समेत स्वीकृत उक्त डिपिआर फेल गराउन अध्यक्ष ओली लागेको पौडेलको आरोप छ । उनले अध्यक्ष ओलीलाई आर्थिक अनियमितता गर्दै ५५ वटा कोठा बनाएर आफु नजिकका मान्छेलाई वितरण गर्न लागेको बताएका छन् ।

यता, बजारका अध्यक्ष ओलीले निवर्तमान अध्यक्ष पोडैल अहिलेको समितिमाथि नियोजित रुपमा आरोप लगाइरहेको बताउछन् । आफ्नो कार्यकालमा गरेका अनियमितता र वेथितिलाई छोप्न पौडेलले गलत आरोप लगाएको ओलीले स्पष्ट पारेका छन् । आफुले गरेका भ्रष्टाचार ढाकछोप गर्न र अहिलेको समितिको बद्नाम गर्न अघिल्लो समितिका अध्यक्ष पौडेल लागिरहेको जानकारी दिए ।

अघिल्लो समितिले ८४ वटा स्टल निर्देशिका विपरित करोडौं रुपैयाँ अनियमितता गरेर नामसारी गरेको ओलीले पत्रकारहरुलाई जानकारी दिएका छन् । सो विषयमा विभागलाई पत्र लेखेपछि पौडेल गलत आरोप लगाउन थालेको बताए । ओली भन्छन् – निवर्तमान अध्यक्षले पैसा दिनेहरुको नामसारी गरेका छन् । मलाई पनि १०-१५ जनाले नामसारी गर्न फाइल आएको छ । आफुबाट त्यस प्रकारका काम हुने छैन ।

कृषिथोक बजार केहि दिनदेखि दुई अध्यक्षबीचको दोहोरीले तातिएको छ । व्यवसायीहरु पनि बजारभित्र वेथिति अन्त्य हुनुपर्ने माग गर्दै आएका छन् । व्यवसायीहरुले अघिल्लो समितिबाट धेरै गलत कामहरु भएको बताइरहेका छन् ।
अघिल्लो समितिले ३८ लाख रुपैयाँमा शौचालय निर्माण गर्दा पारदर्शी नगरेको, पुरोना शौचालयको रंगरोगनमा १३ लाख खर्च गरेको अध्यक्ष ओलीको भनाई छ । पौडेल नेतृत्वबाट भएका अपारदर्शी कामहरु बारे सोधीखोजी गर्दा बद्नाम गर्न सहनु परेको दुखेसो पोखे ।

यसअघिको समितिले नजिकका मान्छेहरुसँग दोकान किनबेच गर्नेहरुलाई जरिवाना नगरेको र आफू निकट नभएकाहरुलाई अत्याधिक जरिवाना गरेको बताइएको छ । बजारभित्र असमान भाडादर कायम गर्दै धेरै व्यवसायीहरुलाई दुख दिने काम भएको पत्रकार समक्ष ओलीले भने । उनले भने – म मेरो कार्यकालमा व्यवसायीहरुलाई भाडादर समान गर्नेछु । एकै लाइन बस्ने व्यवसायीबीच भाडामा विभेद गर्न दिने छैन ।

पौडेलले आफूखुशी आफन्तलाई बजारभित्रको जग्गा पनि वितरण गरिएको वर्तमान अध्यक्षको आरोप छ । बजारभित्र रहेका ३४६ वटा पसलमध्ये ४२ वटा पसल अर्कै व्यक्तिलाई विक्री गरिएको विवरण समेत प्राप्त भएको छ । पैसाको चलखेल गरेर एउटा व्यक्तिको पसल अर्कैलाई विक्री गर्ने काम भएको अध्यक्ष ओली बताउँछन् ।

०७७ मा अध्यक्ष बनेका पौडेल गैरकृषक भन्दै आलोचना समेत भएको थियो । उनलाई ‘गमला’ किसान भन्दै टिप्पणी गर्ने गरिएको छ भने वर्तमान अध्यक्ष ओली एमालेकै वागी बनेर १ मतले निर्वाचित भएका थिए । उनले एमालेका आधिकारिक उम्मेदवार खगेन्द्र महतोलाई १ मतले पराजित गरेका थिए ।

पछिल्लो समय बजारमा बढ्दै गइरहेको आरोपप्रत्यारोपले बजारलाई कमजोर बनाउन सक्ने व्यवसायीहरु बताउछन् । कतिपय व्यवसायीहरुले बजारमा निर्माण भएका अधिकाशं संरचनाहरुको छानविन हुनुपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]