मेचीनगरमा ‘निलसरी महोत्सव’
झापा, २३ वैशाखः ओझेलमा परेकी ऐतिहासिक पात्र निलसरी मेचेको सम्झनामा मेचे समुदायको भाषा, संस्कृति, साहित्य र कलाको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा ‘निलसरी महोत्सव’ सुरु भएको छ ।
निलसरी इतिहासको चर्चित व्यक्ति भए पनि उहाँको पात्र ओझेलमा परेपछि इतिहास उत्खनन गर्न र मेचे समुदायको भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘निलसरी महोत्सव’ सुरु गरिएको हो ।
मेचीनगर–७ जोरसिमलमा सोमबार नगरप्रमुख गोपाल बुढाथोकीले महोत्सवको उद्घाटन गर्दै ऐतिहासिक एवं चर्चित पात्र निलसरीको इतिहास उत्खनन गर्न, भाषा, कला संस्कृति संरक्षण र प्रवर्द्धनमा महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
यही वैशाख २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मेचे समुदायको भाषा, साहित्य, संस्कृति र कलाका विषयमा विज्ञहरूको सहभागितामा विभिन्न छलफलहरू आयोजना हुने आयोजक जोरसिमल मेचे समाज विकास समितिले जनाएको छ ।
कार्यक्रममा समुदायको जातीय झाँकी, सांस्कृतिक प्रस्तुति र स्थानीय परिकारका खानाको प्रदर्शनी गरिने समितिका सचिव सञ्जय मेचेले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष सुन्दर मेचेले आफ्नो समुदायको जनसङ्ख्या पाँच हजार १९३ रहेको जनाउँदै मेचेको सघन बसोबास झापा जिल्लामा मात्र रहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका मेचीनगर र हल्दिबारी मेचे समुदायको बसोबास भएको पालिका हुन् ।
निलसरी मेचे श्री ३ जङ्गबहादुर राणाकी पत्नी भएको इतिहासकारहरू बताउँछन् । मेचीनगरको धुलाबारीमा बसोबास गर्ने उजिरसिंह मेचेकी छोरी निलसरीलाई जङ्गबहादुरले शिकार खेल्न आएका बेला मन पराएपछि विवाह गरी रानी बनाएको इतिहास भेटिएको मेचे समाज विकास समितिका सचिव मेचेले उल्लेख गर्नुभयो ।
“जङ्गबहादुर शिकार खेल्न कनकाईबाट मेची नदीसम्म आउनुभएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “मेचीनगर–७ घैलाडुब्बा आसपासको क्षेत्रमा निलसरीलाई देखेपछि राजाले शिकार खेलेर राजधानी फर्किने बेलामा विवाह गरी रानी बनाउनु भएको थियो ।”
निलसरीका बुवा उजिरसिंह मेचेको चौथो पुस्ता हाल मेचीनगरमा बसोबास गरिरहेको सचिवले जानकारी दिनुभयो । ऐतिहासिक पात्र भएकाले निलसरीको सम्झना र मेचे समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा नेपाल र भारतमा रहेको मेचे समुदायको सहभागिता छ ।