बैशाख २५, २०८२ बिहीबार

०८४ मा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउ – महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उहाँले भन्नुभयो ।

४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताउनुभयो ।

अबको पार्टी कामको दिशा युवाको बिचमा पार्टीलाई लैजाने भएको उहाँले बताउनुभयो । देशका मतदाताको ठुलो हिस्सा युवा भएकोले युवाको बिचमा पार्टी जानु पर्ने उहाँको धारणा छ । युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पार्टीको पक्षमा निष्ठाका साथ उभिन पनि नेताहरुलाई आग्रह गर्नुभयो । पार्टीमाथि चौतर्फी आक्रमण भएको बेलो त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने पोखरेलको धारणा छ ।

नेकपा एमालेलाई पटक पटक विभाजन प्रयास गरिएको बताउँदै उहाँले ती सबै समस्यासँग जुध्दै एमालेलाई फेरी जनताको रोजाइको सबैभन्दा पहिला पार्टी बनाइएको पोखरेलले बताउनुभयो । जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामर्थ्य एमालेले जुटाउन नसकेको उहाँको भनाइ छ । २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उहाँको धारणा छ ।

अहिले दुईवटा ठुला पार्टी मिलेर मुलुकलाई संकटबाट निकाल्ने प्रयास गरिरहेका पोखरेलले बताउनुभयो । दुई ठुला पार्टी मिलेपछि देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको पोखरेलले दाबी गर्नुभयो । भेलालाई एमाले उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, राष्ट्रियर युवा संघ नेपालका इञ्चार्ज एवं एमाले केन्द्रीय सदस्य राजिव पहारी, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : बैशाख २५, २०८२ बिहीबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]