ओइलाएको अनुहारले एमालेसँग बदला लिन सकिन्न : जगन्नाथ खतिवडा
बिर्तामोड । झापामा नेकपा एकीकृत समाजवादीको दशौं झापा जिल्ला अधिवेशन सुरु भएको छ । शनिवार बिर्तामोडमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
बिर्तामोडको इन्द्रेणी ब्याङक्वेटमा सुरु भएको अधिवेशनको उद्घाटन शत्रमा केन्द्रीय नेतृत्वहरुले सम्बोधन गर्नुभयो । कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले सत्तारुढ दलबीच भागभण्डाको राजनीतिले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय टुङगिन नसकेको टिप्पणी गर्नु भएको छ ।
नेकपा एकीकृत समाजवादीको दशौं झापा जिल्ला अधिवेशनलाई बिर्तामोडमा शनिबार सम्बोधन गर्दै नेता खनालले आफ्नै मुख्य प्रतिस्पर्धी दलसँग सत्ता गठबन्धन गरेर एमालेले गम्भीर त्रुटि गरेको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले कांग्रेस एमाले लगायतका ठूला दलले नै भ्रष्टाचारको संस्थागत संरक्षण गरिरहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडा पार्टीभित्र च्याँखे थाप्ने नेता र दुई नाउमा खुट्टा राख्ने कार्यकर्ताहरुको कारण समस्या भएको बताउनुभएको छ । पद् र व्यवस्थापन नभए एमालेमा गइहाल्छौं भन्ने प्रवृत्तिले पार्टी निर्माण नहुने बताउनुभयो ।
दोधारेहरुले पार्टी निर्माण नगर्ने भन्दै उहाँले आफैले बनाएको एमाले छदैंछ नि भन्नु गलत भएको टिप्पणी गर्नुभयो । नेता र कार्यकर्ताहरुको एउटा खुट्टा एमालेमा छ, उहाँले भन्नुभयो – एमाले मैले त बनाएको पार्टी हो भन्ने एकथरी नेताहरु देखिरहेको छु ।
पार्टीलाई अपेक्षाकृत रुपमा ठुलो बनाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँले पार्टी ठुलो नभए पनि कमजोर नभएको बताउँनुभयो । ०८४ को निर्वाचनमा एमालेको ठुलो बेलुनलाई सियोले फुटाइदिने चेतावनी दिदैं कार्यकर्ताहरुलाई सान्तवनाको ढाडस दिनुभयो । राष्ट्रिय पार्टी नबनेका कारण एमालेले धेरै अपमान गरेको भन्दै उनले त्यसको एक–एक बदला लिने बताउनुभयो । उहाँले भन्नुभयो – त्यसका लागि तपाईहरु तयार हुनुहुन्छ कि हुनुहुन्न ? बदला दिनु हुन्छ भने आजको जस्तो ओइलाएको अनुहारबाट संभव छैन । पार्टी निर्माणमा कार्यकर्तालाई जुट्न निर्देशन दिदैं उपाध्यक्ष खतिवडाले आफ्नो क्षमतामाथि प्रश्न गर्न सूझाव दिनुभयो ।
जिल्ला अधिवेशनमा एमालेमाथि खनिएका खतिवडाले कार्यकर्ताहरुलाई सान्तवना दिदैं आगामी निर्वाचनमा सबै पालिका र वडामा उम्मेदवार बनेर विजय हासिल गर्न आग्रह गर्नुभयो । उहाँले एमाले कांग्रेसले जितेको पालिकाहरुमा वेथिति भएको बताउँदै त्यसका विरुद्ध क्रान्तिकारी पार्टी नेकपा एस गाउँगाउँमा खवरदारी गर्दै पार्टी निर्माण गर्न उहाँले सूझाव दिनुभयो ।
सम्बोधनका क्रममा कार्यकर्ताहरुले ताली नबजाएपछि खतिवडाले एक पटक ताली बजाइदिन आग्रह समेत गर्नुभयो । उहाँले ताली बजाएपछि तालीलाई उर्जाका रुपमा परिभाषित गर्नुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित गरिएको छ ।
सम्मानित नेता खनालले खरेलसहित इन्द्रबहादुर बुढाथोकी, नारायणसिंह राजवंशी, जनार्दन उप्रेती, देवी बराल, पुण्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुण्य नेपाललाई सम्मान गरिएको हो ।
उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, सचिब बलदेव चौधरी, पोलिटब्युरो सदस्यहरु अशेष घिमिरे, महेश रेग्मी, दुर्गा परियार, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, एकीकृत समाजवादी झापाका इन्चार्ज पुष्पराज पोख्रेललगायतले सम्बोधन गर्नुभयो ।
दुई दिनसम्म चल्ने अधिबेशनमा ४ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी रहेका छन् । बन्दसत्रले आगामी नेतृत्व चयन गर्ने बताइएको छ ।