नेकपा एस झापाको अध्यक्षमा विपी भट्टराई घोषणा गर्ने तयारी, निर्वाचनलाई रमिताको संज्ञा
बिर्तामोड । झापामा नेकपा एसको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मेचीनगरका विपी भट्टराईलाई घोषणा गर्ने तयारी भइरहेको छ । नेताहरुले चुनाव गरेर रमिता नदेखाऔं भन्दै सर्वसम्मत नेतृत्व घोषणा गर्न लागेका हुन् ।
निर्वाचन प्रक्रियामा जाने माहोल नभएपछि ७५ प्रतिशत प्रतिनिधिहरुले हल छोडेर निस्किसकेका छन् । नेताहरुले नै घोषणा गर्ने भए अधिवेशनमा किन दुख दिएको भन्दै केही प्रतिनिधिहरु बाहिरिएका छन् ।
प्राप्त सूचना अनुसार सबै पदमा नेताहरुले भनेको व्यक्तिको नाम घोषणाको तयारी गरिएको छ । प्रतिनिधिहरुले नेतृत्व चयन गर्न नपाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
कार्यकर्ता नै नभएको निर्वाचन क्षेत्रमा धेरै पद दिएको शिवसताक्षीका एक प्रतिनिधि बताउँछन् । अधिवेशनमा हल भर्ने, आर्थिक दायित्वमा योगदान गर्ने पालिकाभन्दा कार्यकर्ता नै नभएको कनकाई, झापा गाउँपालिकाहरुलाई प्राथमिकता दिएको गुनासो केहि प्रतिनिधिहरुको छ ।
अध्यक्षमा विपी भट्टराई, उपाध्यक्षमा नविन इजम, प्रेमसागर सापकोटा, सचिवमा सानु लामाको नाम घोषणाको तयारी भइरहेको छ ।
केन्द्रीय नेताहरुले निलमणी बराललाई अध्यक्ष बनाउन दवाव दिएका थिए । अध्यक्षमा चन्द्रा श्रेष्ठ समेतको आकांक्षा थियो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले निर्वाचनको रमिता नदेखाऔं, सानातिना गुनासा भए सम्बोधन गर्दै जानुपर्ने प्रतिनिधिहरु सूझाव दिएर पुष्पराज पोखरेललाई बोल्न मञ्च प्रदान गरेका थिए ।