बैशाख २९, २०८२ सोमबार

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की

विराटनगर, २९ वैशाख – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ ।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतमबुद्धले देखाउनुभएको सत्मार्गलाई आत्मसात् गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँका दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र होइन, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताउनुभएको छ । बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पु¥याउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा यो दिनले धार्मिक, सामाजिक तथा आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सक्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]