बैशाख २९, २०८२ सोमबार

प्रतिनिधिमा उमेश खरेलको नाम आएपछि रास्वपा मेचीनगरमा लफडा, प्रतिनिधि छनौट रोकियो

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा विवाद भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको छ । विवादका कारण जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट स्थगित भएको निवर्तमान नगर सभापति कमल गौतमले जानकारी दिए ।

नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरीपछि निलम्बनमा परेका झापाका संस्थापक अध्यक्ष उमेश खरेलको नाम प्रतिनिधिमा आएपछि विवाद भएको थियो । विवाद चर्किएपछि प्रक्रिया नै स्थगित गरिएको गौतमले बताए । ‘जान्नेलाई छान्ने’ नारा बोकेको रास्वपाले मेचीनगरमा नेतृत्व सर्वसम्मत गरेपनि प्रतिनिधि छनौटमा लफडा भएको हो । गौतमले अन्य पालिकाका नेता कार्यकर्ताको मेचीनगरमा हस्तक्षेप र उश्रृङ्खलता देखाएको आरोप लगाए । बिर्तामोडबाट पुगेका रास्वपाका नेता कार्यकर्ताहरुको लफडाका कारण विवाद उत्पन्न भएको उनको भनाई छ ।

अधिवेशनबाट जिल्लामा ४, प्रदेश र केन्द्रमा २÷२ जना प्रतिनिधि छान्नुपर्ने थियो । प्रतिनिधिमा उमेश खरेलको नाम आएपछि विवाद भएको हो । जिल्ला समितिले नैतिक चरित्र र आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो । खरेललाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि सिफारिस गरिएको थियो । कारबाहीको लागि सिफारिस भएपछि खरेलले जिल्ला सभापति पदबाट राजीनामा नै दिएका थिए ।

नगर अधिवेशनमा उनलाई जिल्ला प्रतिनिधि छनौट गर्नुपर्ने माग भएपछि अधिवेशन हलमा लफडा भएको थियो । निवर्तमान नगर सभापति गौतम भन्छन्, प्रतिनिधि छनौट प्रक्रिया हलमा भएको विवादकै कारण स्थगित भएको हो । निर्वाचन समिति, अनुशासन आयोग वा उपल्लो कमिटीले स्थगित गर्नुपर्नेमा हलको विवादका कारण स्थगित भएको छ ।

बिर्तामोडबाट आएका साथीहरुले बल मिच्याई गरे, उश्रृङ्खलता देखाए, उनी थप्छन् – जसका कारण प्रतिनिधि छनौट स्थगित भयो । मुडभेठ नहोस् भन्ने उद्देश्यले प्रक्रिया स्थगित गर्नुपरेको हो । अनुशासन आयोगले कारबाही गरिसकेको तर साधारण सदस्य रहिरहेको कारण वडाले खरेललाई प्रतिनिधि सिफारिस गरेको थियो ।

चैत अन्तिम सातामा मेचीनगरको अधिवेशन गर्ने तयारी भएपनि खरेलकै कारण लम्बिएको कतिपय नेताहरुको आरोप छ । उनले केन्द्रका आफू पक्षधर नेताहरुको सल्लाह बमोजिम नगर अधिवेशनलाई बैशाख अन्तिमससम्म धकेलेको एक जिल्ला नेता बताउँछन् । प्रदेश समिति खरेलको पूरा विपक्षमा छ, एक नेता भन्छन् – केन्द्रको केहि नेतासँगको लिगेसीका कारण खरेलले नगर अधिवेशनमा ‘गेम’ खेले ।

नगर अधिवेशनमा खरेलकै कारण समस्या हुन सक्ने कार्यबहाक सभापति डिपी अर्याल, नेताहरु तोसिमा कार्की र रमेश प्रसाईलाई गोप्य रुपमा पूर्व जानकारी समेत गराइएको थियो ।

खरेलमाथि उजुरी परेपछि जिल्लाको अनुशासन आयोगले पीडित पक्षहरुसँग छलफल गरेर प्रमाणका आधारमा साधारणसदस्य समेत नरहने गरी कारबाही गर्न प्रतिवेदन बुझाएको थियो ।

नगर अधिवेशनका क्रममा विहान एकछिन देखा परेका खरेल काम विशेषले छिट्टै बाहिरिएका थिए । उनले पार्टी गतिविधिभन्दा बाहिर रहेको इजलाससित बताएका छन् । अधिवेशनको घटनाबारे आफूलाई केही पनि जानकारी नभएको बताएका छन् । हलमा विवाद हुनुमा खरेलकै भूमिका रहेको एक नेताले जानकारी दिए ।
नगरले सन्तोष राजवंशीलाई सभापतिमा सर्वसम्मत गरेको छ ।

प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]