झापामा पीडितले सिधैं सम्पर्क गरे हुन्छ, सोर्स लाउनु पर्दैन : एसपी लिम्बू
बिर्तामोड । झापाका सबै नागरिकहरुलाई प्रहरी यूनिटहरुमा सहजै पहुँचको व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बु प्रतिवद्धता जनाएका छन् ।
प्रहरीसम्म आफ्नो समस्या राख्न कसैको साहरा लिनु नपर्ने एसपी लिम्बुको भनाई छ । उनले कोहि पनि पीडितले सिधैं सम्पर्क गरे हुन्छ, कसैको सोर्स लगाउनु पर्दैन ।
विभिन्न समस्यामा परेका नागरिकहरुलाई न्यायका लागि प्रहरीसम्म जानका लागि कसैको साथ लिन नपर्ने उनले झापाली पत्रकारहरु समक्ष प्रतिवद्धता जनाए । प्रहरीलाई आफ्नो समस्या राख्न सिधैं कार्यालय प्रमुखलाई भेट्न सकिने उनको धारणा थियो । अहिले पनि प्रहरी कार्यालय जाँदा कसैलाई लिएर जानुपर्छ भन्ने मान्यता छ, उनले भने , अब त्यस्तो हुन दिने छैनौं । हरेक नागरिकले प्रहरीसम्म सजिलै आफ्नो समस्या राख्न सक्ने वातावरण बनाइने छ ।
झापाली पत्रकारहरुसँग आज परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उनले जिल्लामा लागुऔषध नै मुख्य समस्या रहेको बताए । झापामा लागुऔषध, चोरी, सवारी दुर्घटना, ठगी जस्ता समस्याहरु रहेको प्रहरी प्रमुख लिम्बुको भनाई थियो । उनले सबैसँग समन्वय गरेर लागुऔषध नियन्त्रणसँगै जिल्लामा विद्यमान समस्याहरुको समाधान गर्दै जाने बताए ।
झापामा मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए । चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने बताएका छन् ।
झापाको शान्ति सुरक्षाका लागि प्रतिवद्ध भई काम गर्ने बताएका लिम्बुलाई पत्रकारहरुले विभिन्न समस्या समाधानका लागि सूझाव दिएका थिए ।