जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडका कृषकलाई बाख्रा वितरण

बिर्तामोड, ३१ बैशाख : बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कषक समूहलाई बाख्रा वितरण गरेको छ ।

मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आज १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ ।

बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने बताउनु भयो । नगर प्रमुख प्रसाईले बाख्रा पालनलाई उपलव्धीमुलक बनाउन जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ७का वडाअध्यक्ष अविरल कृष्ण खरेलले कार्यक्रममा औषधी उपचार, विमाको सुविधा रहेकोले बाख्रामा कुनै क्षति नहुने बताउनु भयो । उहाँले स्वरोजगारसंगै व्यवसायिक बन्न सबैलाई आग्रह गर्नु भयो ।

आर्थिक विकास समिती संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवाको अध्यक्षतामा सिताराम मन्दिर टोलमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुंगाना विक, शाखा अधिकृत सावित्रा दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]