जेष्ठ २, २०८२ बिहीबार

झापाका बाढी प्रभावित क्षेत्रका लागि गैरखाद्य सामग्री पठाउन थालियो

बिर्तामोड । झापाका बाढी प्रभावित क्षेत्रहरुमा रेडक्रसले गैरखाद्य सामग्रीहरु पुराउन सुरु गरेको छ । बुधबार रेडक्रस जिल्ला शाखा झापाले दुई ठाउँमा सामग्रीहरु पुराएको जनाएको छ ।

झापा गाउँपालिकास्थित मदरगाछ र शिवसताक्षी ७ मा गैरखाद्य सामग्री पुराइएको रेडक्रस झापा शाखाका कार्यालय प्रमुख हरिशरण खड्काले जानकारी दिए । उनका अनुसार कनकाई, बाह्रदशी र झापाको बाढी प्रभावित क्षेत्रहरुका लागि मदरगाछमा र गौरीगञ्ज, शिवसताक्षीको प्रभावित क्षेत्रका नागरिकहरुका लागि सामग्री पुराइएको खड्काले जानकारी दिए ।

यो वर्ष ३ सय परिवारका लागि गैरखाद्य सामग्री पठाइने उनको भनाई छ । विपद् योजना अध्यावधिक गरिरहेको रेडक्रसले दमक र गौरादहका लागि गौरादहमा, बाह्रदशी र कनकाईको केहि भागका लागि घैलाडुब्बा, मेची, कचनकवल र हल्दिवारीका लागि भद्रपुरमा उक्त सामग्रीहरुको भण्डारण गरिने तयारी गरिएको छ ।

उनका अनुसार बाढीबाट धेरै प्रभावित हुने क्षेत्रका नागरिकहरुको लागि बेलैमा आवश्यक सामग्री पुराइएको हो । राहत वितरणको रणनीति अनुसार नै निश्चित क्षेत्रमा सामान पठाइएको हो । भाँडाका सेट, कमल, त्रिपाल, बाल्टी, साडी, धोती लगायतका सामानहरु पठाउने गरिएको छ । जिल्लामा शिवसताक्षी, कनकाई, झापा, गौरीगञ्ज,बाह्रदशी, कचनकवल, भद्रपुर, गौरादह क्षेत्र बाढी प्रभावित पालिकाहरु हुन् । पालिकाहरुसँगका समन्वयमा सामग्रीहरुको व्यवस्थापन मिलाइएको जनाइएको छ ।

रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडक्रस र विश्व खाद्य कार्यक्रमसहित विभिन्न निकायको सहयोगमा सामग्रीहरु भण्डारण थालिएको बताए । उनले यो वर्ष सडक संरचनाका कारण धेरै समस्या हुने बताए । विपद्बाट प्रभावित ठाउँहरुमा पुग्न धेरै कठिनाई हुने बताएका हुन् । उनले एसियन हाइवे निर्माण र हुलाकी सडक खण्डमा पुल निर्माण नहुँदा विपद्मा आवतजावत गर्न नसक्ने अवस्था रहेको बताए । सभापति ढकाल भन्छन् – अब केहि दिनमा एक ठाउँबाट अर्को ठाउँ जान कठिन हुनेछ, त्यसैले बेलैमा सामानहरु पुराउन सुरु गरेका छौं ।

प्रकाशित मिति : जेष्ठ २, २०८२ बिहीबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]