जेष्ठ ३, २०८२ शुक्रबार

क्षयरोगको औषधि नियमित खानेलाई अण्डा, दाल र चामल

झापा, २ जेठ – मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान बिरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा दिन थालेको छ ।
पन्ध्र वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमअन्तर्गत बिरामीलाई कुखुराको अण्डा, बदाम, सातु, दाल र चामल दिने गरिएको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।
नगरपालिकाले विक्रम संवत् २०८३ सम्ममा मेचीनगरमा क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए पनि बिरामीले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र सङ्क्रमण नघट्ने समस्या छ ।
रोग लुकाएर बसिरहेकाहरुको खोजपड्ताल गर्ने र सङ्क्रमण पुष्टि भइसकेकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । छ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ ।
सङ्क्रमण पुष्टि भएका नगरवासीलाई एक बोरा चामल, एक क्यारेट कुखुराको अण्डा, एक लिटर खानेतेल, एक किलो दाल, एक किलो बदाम र एक किलो सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका सङ्क्रमितले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधिसमेत नियमित रुपमा खाने गरेको पाइएको सापकोटाले बताउनुभयो । भूगोल र जनसङ्ख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा हाल १६४ सङ्क्रमितले क्षयरोगको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका छन् ।
नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेमा ६५ वर्षमाथिको सङ्ख्या बढी छ । तीनजना एचआइभी सङ्क्रमितले समेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ पठाएर नयाँ सङ्क्रमितको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधिजडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ सङ्क्रमित पत्ता लागेको जनाइएको छ ।
क्षयरोगका बिरामी स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य वस्तु पाउँदा हर्षित रहेको मेचीनगरका प्रवक्ता एवम् वडा नं २ का वडाध्यक्ष दीपक बराल बताउनुहुन्छ । “उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका सङ्क्रमित ज्यादै खुसी हुन्छन्”, बराल भन्नुहन्छ, “हुनेखानेहरु सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन्, तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अण्डा, सातुलगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।”

प्रकाशित मिति : जेष्ठ ३, २०८२ शुक्रबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]