जेष्ठ ५, २०८२ आईतबार

सर्पदंश चारआलीमा बैशाख मसान्तसम्म ६५१ जना विरामीको उपचार

विषालु सर्पको टोकाईमा परेका ११७ जनाको ज्यान बचायो

बिर्तामोड । झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ६५१ जना विरामीको उपचार गरेको छ । त्यसमध्ये ११७ जना विषालु सर्पको टोकाईबाट विरामी परेका थिए ।

उपचार केन्द्रका अनुसार बैशाख मसान्तसम्म विषालु सर्पले ५८ जना पुरुष, ५७ जना महिला र २ जना बालबालिकालाई टोकेको थियो । अविषालु सर्पले २११ जना पुरुष, २२५ जना महिला र ८८ जना बालबालिकाहरुलाई टोकेको थियो । उपचार केन्द्रमा कार्यरत प्राविधिक ढुक बहादुर सिंजाली मगरका अनुसार विषालु सर्पले टोकेका विरामीहरुले समयमा उपचार नपाउँदा ज्यानै जान सक्छ । अन्य सर्पहरुले टोकेको खण्डमा घाउ मात्र हुने भए पनि विषालू सर्पको टोकाईबाट ज्यान जान सक्ने संभावना धेरै हुन्छ ।

नेपाल सरकार, समुदायको लगानी र नेपाली सेनाको प्राविधिक सहयोगबाट सञ्चालित सर्पदंश उपचार सेवा केन्द्रले पूर्व नेपालका धेरै जिल्लाका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको छ । झापासहित इलाम, पाँचथर , ताप्लेजुङ, खोटाङ, तेह्रथुम र पश्चिम बंगालसम्म सेवा प्रदान गरिरहेको उपचार केन्द्रले गत साउन महिनामा सबैभन्दा धेरै १४३ जना विरामीको उपचार गरेको थियो भने माघ महिनामा ६ जना विरामीको उपचार गरेको विवरणमा उल्लेख छ ।

भेन्टिलेटरमा राख्नैपर्ने विरामी भए रेफर गर्नुपर्छ, प्राविधिक मगर भन्छन्, ‘त्यस बाहेक सबै विरामीहरुको उपचार केन्द्रमै हुने गरेको छ । उपचार केन्द्रको मुख्य उद्देश्य नै विरामीहरुको ज्यान जोगाउनु हो ।’

सर्पको टोकाईपछि विरामी लिएर आएका इलामका ज्ञान बहादुर थापाले सर्प दंश उपचार केन्द्र बारे गाउँगाउँसम्म प्रचार प्रसार हुनुपर्ने बताउँछन् । उनले गाउँमा उपचार बारे थाहा नहुँदा धेरैले समस्या भोग्नुपरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]