जेष्ठ ५, २०८२ आईतबार

लैङ्गिक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

मेचीनगर, ४ जेठ । मेचीनगरमा लैङ्गीक हिंसा अन्त्य गर्न नगरपालिकाले यहाँका सामाजिक संघ–संस्थाहरुसँग हातेमालो गरेरअघि बढिरहेको छ ।
मेचीनगर नगरपालिका र यहाँका सामाजिक संघ–संस्थाहरु महिलामाथि हुने जुन सुकै प्रकारका लैङ्गीक हिंसा न्युनिकरणका लागि विभिन्न माध्यमबाट काम गरिरहेको छ ।
नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाले महिलाहरुको हित र सुरक्षाका लागि आफ्नै बजेट र विभिन्न दातृ निकायको सहयोगमा अभियान चलाइरहेको छ ।
अपाङ्गता तथा बालबालिकाको क्षेत्रमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनसँग मिलेर नगरपालिकाले काम गरिरहेको छ ।
त्यस्तै दातृ निकायको सहयोगमा लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गीक हिंसा न्युनिकरणको पनि तीन वर्षे अभियान सुरु भएको छ ।
सोही अन्तरगत अहिले लैङ्गीक हिंसा रोकथामका लागि विभिन्न समिति गठन, तालिम, सचेतना लगायतका अभियान हुन थालेको छ ।
आइतबारदेखि जेठ ११ गतेसम्म लैङ्गीक हिंसा न्युनिकरणका लागि सबै समुदायसँग जोडिएर तालिम, सचेतना, क्षमता अभिवृद्वि लगायतका कार्यक्रमहरु गरिन थालिएको छ । आज जेठ ४ र ५ गते लैङ्गीक हिंसा विरुद्ध संलग्न सरोकारवालाहरुसँग क्षमता अभिवृद्वि कार्यक्रम सुरु गरिएको छ ।
श्रीमती दास होइन, जीवनसाथि हो : नगरप्रमुख बुढाथोकी
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा सम्बन्धीका घटनाहरु समाजमा थुप्रै रहेको बताए ।
‘पुरुष हिंसा पनि छ’, बुढाथोकीले भने–‘तर, धेरै पीडित महिला छन । श्रीमती दास होइन, जीवनसाथि हो । यस्तो खालको प्रवृति अझै समाज छ । यस्ता धेरै कुराको अन्त्य हुन आवश्यक छ ।’
नगरपालिका र दातृ निकायको सहयोगमा गरिने यस्ता अभियानलाई सबैले साथ र सहयोग लिएर लक्ष्यमा पुग्नु पर्ने उनको जोड छ ।
कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले मेचीनगरले लैङ्गीक हिंसा मुक्त अभियान अन्तरगत कानूनी, सामाजिक, सशक्तिकरण लगायतको क्षेत्रमा काम गरेका संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेकी नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतमा महिलाहरुले समस्या समाजमा लुकाउने गरेको बताइन् ।
अहिले धेरै महिलाहरुले आफ्ना समस्या समाजमा खुलेर बोल्न थालेको उनको दावी छ । हिंसामा परेका पुरुषहरुलाई पनि न्यायिक समितिबाट मानो चामल भराईएको बताइन् ।
सोमबार सम्म चल्ने कार्यक्रममा ओसीएमसी प्रादेशिक अस्पताल भद्रपुरका डाक्टरको टिम, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा धुलाबारीका प्रहरी र महिला सेलका प्रहरीको टिम,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, महिला हिंसा सम्बन्धी काम गर्ने विभिन्न सामाजिक संघ–संस्थाहरु लगायत ४० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई लैङ्गीक हिंसा सम्बन्धीकी वरिष्ठ विज्ञ मेनुका वस्नेत विष्टले प्रशिक्षण दिइरहेकी छन् ।
सोही सम्बन्धीको सचेतना कार्यक्रम यही जेठ ६ र ७ गते १५ वटै वडाका मेलमिलाप कर्ताहरुलाई, जेठ ८ र ९ गते दलित महिला, महिला जनप्रतिनिधि, शाखा प्रमुख, महिला वडा सचिव, कार्यपालिका सदस्यहरुलाई र जेठ १० र ११ गते नगरपालिकाले भर्खरै गठन गरेको पुरुष सञ्जालको कार्यसमिति र वडाका सञ्जाल प्रतिनिधिहरुलाई पनि दिइने बताइएको छ ।
क्षमता अभिवृद्वि कार्यक्रमको स्वागत लैङ्गीक हिंसा सम्बन्धी विज्ञ कमला उप्रेतीले र सञ्चालन महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
दातृ निकायको सहयोगमा लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगतको लैङ्गीक हिंसा न्युनिकरणका कार्यक्रम कोशी प्रदेशको धनकुटा, उर्लाबारी, मेचीनगर नगरपालिका र भोटखोला गाउँपालिका तथा लुम्बिनी प्रदेशको तिलोतमा र रामग्राम नगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]