के-के भएन ? बुँदागत ल्याउनु, होलसेलमा आरोप लगाउनु बेकार छ : मेयर प्रसाई
विर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले होलसेलमा आरोप लगाउनुको बदला विषयवस्तु बुँदामा राखेर बहस गर्नु सुझाव दिनु भएको छ । होलसेलमा केहि भएन भन्ने र आरोप मात्र लगाउनेहरु पूर्वाग्रही भएको धारणा राख्नुभयो ।
प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको ‘बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक’ अन्तरकृयामा उहाँले के भएन ? के हुनुपर्छ भन्ने विषय बुँदामा उपलब्ध गराए त्यसको सम्बोधन हुने बताउनुभयो । गोलमोटलमा याँ भएन त्याँ भएन भन्नु बेकारको कुरा रहेको स्पष्ट पार्नुभयो । केके काम भएको छ भन्ने बारे नगरपालिकामा आएर बुझ्न सूझाव समेत दिनुभयो । नकारात्मक सोच हुनेहरुले होलसेलमा आरोप लगाउनुको कुनै अर्थ नरहेको उहाँको धारणा थियो ।
कार्यक्रममा विर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् । सञ्चारकर्मीहरुले सबै किसिमका विकासका लागि नागरिकलाई सुसूचित गर्दै चेतनाको विकासलाई ध्यान दिनुपर्नेमा जोडदिए ।
नगरबासीलाई सुसूचित गराएर मात्रै नगरपालिकाले निर्वाध रुपमा भौतिक पूर्वाधार, सामाजिक, शैक्षिक तथा नैतिक क्षेत्रमा विकास गर्न सक्ने बताएका थिए । त्यसरी विकास गरिँदा पूर्वाधार संरचना चाडै जीर्ण नहुने र दीर्घकालीन रुपमा उपयोग गर्न सकिने उनीहरुको आसय थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राईले विर्तामोडको समग्र विकास योजनाका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण भएकाले नगरपालिकाले सञ्चारकर्मीसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सञ्चारकर्मीको सहभागिताले मात्रै स्थानीय तहको समग्र र दीगो विकास हुने धारणा व्यक्त गरेका थिए । उनले विर्तामोड नगरपालिकाले सञ्चार कानुन बनाएर सञ्चार गृहलाई सम्बोधन गर्न समेत सुझाव दिएका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले विर्तामोड नगरपालिकाले केहीवर्ष यता विकास निर्माणमा गरेको लगानी र मेहनत अनुकरणीय भएको बताए । उनले विर्तामोड नगरपालिकाले सञ्चार गृहलाई लोककल्याणकारी बिज्ञानमार्फत सुबिधा उपलब्ध गराउँदै आए पनि सुबिधा लिदै आएका सञ्चारमाध्यमले नगरको विकासमा ध्यान नपुर्याएको धारणा राखेका थिए ।
नारी सञ्चार गृह झापाकी पूर्वअध्यक्ष भीमा शिवाकोटीले आम नागरिकको विकासका लागि नगरले नयाँ ढंगले योजना अघि सार्नुपर्नेमा जोड दिइन् । यस्तै, संचारिका समुह झापाकी अध्यक्ष लीला अनमोलले मानिसको चेतनाको विकास विना गरिएका भौतिक पूर्वाधार विकास निर्माणका संरचना टिकाउ नहुने भएकाले त्यसतर्फ नगर नेतृत्वले सोच्नुपर्नेमा जोड दिइन् ।
बिर्तामोड वडा नम्बर–३ का वडाध्यक्ष मदन बुढाथोकीले राज्यको ठोस नीति कार्यक्रम नहुँदा जनताको अपेक्षाअनुसार वडा र नगरमा काम गर्न नसकेको स्वीकार गरेका थिए । सानो बजेट त्यसमा धेरै कार्यक्रम सम्बोधन गर्नुपर्ने बाध्यताका कारण जनप्रतिनिधिले त्यसको सामना गर्नुपरे तितो यथार्थ रहेको बताएका थिए ।
वडा नम्बर –४ का सदस्य उमेश राउतले नगरपालिकाले स्थानीय नागरिकको अपेक्षा शिक्षा, स्वास्थ्य, रोजगारी चेतनाको विकासमा भन्दा पूर्वाधार विकासमा योजना धेरै रहेकाले त्यसलाई आगामी दिनमा सुधार गरेर लैजानुपर्ने औंल्याएका थिए ।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष अर्जुन कार्कीले नगरपालिकाले लोककल्याणकारी बिज्ञापनको नाउँमा केही सञ्चार गृहलाई मात्रै सम्बोधन गरेकाले आगामी दिनमा सुधार गर्न आग्रह गरेका थिए ।
अन्तरकृयामा अन्य सहभागीहरु नेपाल टेलिभिजनका डिकेअह लामा, इन्द्रजित मुखिया, कान्तिपुर टेलिभिजनका प्रतिनिधि गणेशमान मुखिया, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिह राजबंशी, रेडियो भिजनका समाचार प्रमुख पुष्प बराल, पर्यटन पत्रकार मन्च झापाका अध्यक्ष बिनोद पाण्डे लगायतले नगरपालिकाले गर्नैपर्ने विकास निर्माण र सुधार गर्नुपर्ने बिषयमाथी ध्यानाकर्षण गराएका थिए ।
पत्रकारहरुले उठाएका सवालमाथी कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रादेबि महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकाको सामाजिक, भौतिक, नैतिक लगायत विकास निर्माण तथा कार्यसम्पादनको बारेमा जानकारी दिदैं सहजीकरण गरेका थिए ।
नगर प्रमुख महतराले विर्तामोडको विकासका लागि भ्रष्टाचाररहित, गुणस्तरसहितका योजनाहरु अघि सारिएकाले राम्रो कार्यसम्पादनलाई राम्रो भनेर र नराम्रोलाई सुधारकै लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिन् ।
कार्यक्रममा झापा जिल्लामा कार्यक्षेत्र बनाएर प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव पदमा निर्वाचित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपिन राई र केन्द्रीय सदस्य पदमा निर्वाचित सुखानी आवाजका सम्पादक राजु पाठकलाई प्रेस सेन्टर झापाले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पबित्रादेबी महतरा प्रसाईं र बिशिष्ठ अतिथि नगेन्द्रप्रसाद संंग्रौला तथा जिल्ला अध्यक्षले खादा र अबिर लगाएर सम्मान गरेका थिए ।
पुष्प खड्काको अध्यक्षतामा सम्पन्न बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक अन्तरकृयामा स्वागत होमप्रकाश अधिकारीले र सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।