जेष्ठ ६, २०८२ सोमबार

यसरी बन्दैछ बिर्तामोडका चार ठुला सडकहरु

रमेश तिवारी

बिर्तामोड । बिर्तामोड नगरपालिकामा विभिन्न चार वटा ठुला सडक योजनाहरुको काम तिव्र गतिमा भईरहेको छ । संघ, प्रदेश र नगरपालिकाको संयुक्त लगानीमा मुख्य सडकहरुको स्तरोन्नति कार्य धमाधम भईरहेको हो । हर्कलाल मार्ग, बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नति कार्य भईरहेको छ ।

हर्कलाल मार्ग
बिर्तामोडको पूर्व पश्चिम राजमार्गस्थित देउराली होटल देखि धौलापुल आदर्श चोकसम्म पर्ने हर्कलाल मार्गको स्तरोनन्ति कार्य धमाधम भईरहेको छ । भद्रपुर रोडको वैकल्पिक मार्गको रुपमा रहेको यस सडकमा विभिन्न ३ खण्डमा काम भईरहेको नगरपालिकाले जनाएको छ ।

राजमार्गसँगै जोडिएको देउराली पछाडिको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड १३ लाख ४६ हजार ७०६ रुपैयाँमा ठेक्का लिएर धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले धमाधम काम गर्दै छ । अहिले ड्रेन तथा नाला निर्माणको काम भईरहेको जनाईएको छ ।

यस्तै सडकको बिच खण्डमा १ हजार ९५ मिटर क्षेत्रमा पनि धमाधम काम हुँदैछ । ६ करोड रुपैयाँमा ठेक्का पाएको सरोज निर्माण सेवाले काम गरिरहेको छ । सडकको तल्लो ४ सय ५० मिटर क्षेत्रमा कौशल्या विल्डर्सले कालो पत्रे सम्पन्न गरेको छ । १ करोड ११ लाख २१ हजार ३९४ रुपैयाँमा ठेक्का पाएको कौशल्याले सोमवार कालोपत्रेको काम सम्पन्न गरेको सडक डिभिजन दमकका सव–ईन्जिनियर मदन शाहले जानकारी दिनुभयो । यि दुवै बजेट भौतिक पूर्वाधार र सघन शहरी विकास कार्यालयबाट प्राप्त भएको हो ।

सडकको अन्तिम भागमा भने गएको आर्थिक वर्षमा नै कालोपत्रे सम्पन्न भएको छ । वडा नम्बर ३ को आदर्श चोकदेखि वडा नम्बर ४ को आनन्द चोकसम्मको १ हजार ५६ मिटर सडक स्तरोन्नति भएको हो । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको थियो ।

बुट्टाबारी–प्याकुरेल चोक सडक
वडा नम्बर ६ देखि ७ हुँदै वडा नम्बर ८ प्याकुरेल चोकसम्म ६ हजार २ सय ५८ मिटर लामो यो सडकको निर्माण कार्य धमाधम भईरहेको छ । अन्तराष्ट्रिय स्तरको बन्ने यस सडकको हालसम्मको प्रगति ६० प्रतिशत छ । हाल कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको र जेठको तेश्रो सातासम्ममा काम सुरु हुने ठेकेदार मनोज उप्रेतीले जानकारी दिनुभयो । विश्व बैंकको लगानी रहेको यस सडकमा आरपी साप समता जेभीले ५८ करोड रुपैयाँमा ठेक्का लिएर काम गर्दै आएको छ ।

गोकुल जोशी मार्ग
वडा नम्बर ३ को सिमानादेखि वडा नम्बर २ हुँदै कनकाई नगरपालिका जोड्ने यस सडकको स्तरोन्नती ३ खण्डमा विभाजन गरेर धमाधम भईरहेको छ । चारपाने–घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर सडक खण्डमा सडक डिभिजन कार्यालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा.लिले धमाधम ड्रेन निर्मणको काम गरिरहेको वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिनु भयो ।

यस्तै सडक डिभिजन कार्यालय दमकको १ करोड ४४ लाख रुपैयाँमा कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय मिटरमा जय लक्ष्मी निर्माण सेवाले काम गर्दैछ । यहाँ ड्रेन निर्माणसंगै सडकको बिच भागमा डिभाइडर निर्माणको काम भईरहेको छ ।

यस्तै कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ६० लाख रुपैयाँ समपुरक बजेटबाट दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा काम भईरहेको छ । यहाँ कालो पत्रेका लागि प्राइम लगाउने काम सम्पन्न भएको र केहि दिनभित्रमा कालोपत्रे गरिने निर्माण कम्पनीका दिनेश मैनालीले जानकारी दिनुभयो ।

सहिद चन्द्रमार्ग
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्रमार्ग सडक पनि स्तरोनन्तीको क्रममा छ । वडा नम्बर ३ देखि वडा नम्बर ९ नडियाबारी हुँदै जाने यस सडकमा ड्रेन तथा नाला निर्माणको काम धमाधम भईरहेको छ । यहाँ पनि विभिन्न ३ खण्डमा काम भईरहेको छ ।

५ करोड ६० लाख रुपैयाँ बजेटमा १ हजार ९ सय ६० मिटर सडकमा सिद्दीथुम्का एभरग्रिन जेभीले काम गरिरहेको छ । यस खण्डमा हालसम्मको प्रगति ४० प्रतिशत भएको ठेकेदार नविन खरेलले जानकारी दिनुभयो । उहाँले अवको १५ दिनमा कालोपत्रेको काम हुने जानकारी दिनुभयो । यस्तै अर्को खण्डमा ट्रस्ना निर्माण सेवा २८५ मिटर क्षेत्रमा काम गर्दै छ ।

६८ लाख ९३ हजार ३३५ रुपैयाँमा ठेक्का लिएर ट्रस्नाले काम गर्दै आएको हो । यस्तै अर्को ४ सय ७० मिटर खण्डमा १ करोड ५ लाख रुपैयाँमा ठेक्का लिएर नाम्लाक निर्माण सेवाले काम गर्दैछ । यस खण्डमा दुवैपट्टी डेमोक्रेसन वालसमेत रहेको यस खण्डमा अबको १५ दिनमा कालोपत्रे गरिने ठेकेदार कम्पनीका केशब लिम्बुले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरमा सडक स्तरोन्नकीका धेरै वटा काम भइरहेको बताउनु भयो । निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिँदै उहाँले आवश्यक अनुगमन समेत गर्दै आएको जानकारी दिनुभयो । नगर प्रमुख प्रसाईले चालुआर्थिक वर्षमा साना ठुला गरेर करिब २ अर्ब रुपैयाँ भन्दा बढीका योजना सञ्चालन भईरहेको बताउनु भयो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]