जेष्ठ ९, २०८२ बिहीबार

सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटरले मनायो १८ औं स्थापना दिवस

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटर झापाले १८ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । आज भद्रपुरमा आयोजित कार्यक्रमकाबीच १८ औं स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रममा नृत्य एवम् गायन समेत प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा सेवाबाट अवकास प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति नायव महानिरिक्षक कुमार न्यौपानेले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं संगठन सुदृढिकरण अभियानमा प्रतिवद्ध हुन निर्देशन दिए । उनले राष्ट्र र जनताप्रति समर्पित सशस्त्र प्रहरी सीमा सुरक्षा, अवैध आयातनिर्यात नियन्त्रणमा जिम्मेवारपूर्वक लागिरहने बताए । कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई व्यसायिक र कर्तव्यनिष्ठ हुन आग्रह गर्दै सबै क्षेत्रको समन्वयमा रहेर क्रियाशिल हुन सूझाव दिए ।

यस्तै, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले २ नं गण हेडक्वाटरको स्थापना निकैं संघर्ष र मेहनतबाट संभव भएको बताए । उनले भद्रपुरमा सशस्त्रको व्यवस्थापनपछि सीमा सुरक्षा र राजश्व संकलनमा ठुलो योगदान भएको धारणा राखे । उनले सीमा क्षेत्रमा भइरहेको लागुऔषधको ओसारपोसार चुनौती पूर्ण बन्दै गएकाले नयाँ ढंगबाट काम गर्नुपर्ने सूझाव राखेका थिए ।

यस्तै, झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । उनले सशस्त्र प्रहरीले शान्ति सुरक्षाका लागि निर्वाह गरेको भूमिकाले अन्तराष्ट्रिय जगतमा छवि निर्माण गरेको चर्चा गरे ।

मानवबेचबिखन नियन्त्रण, राजश्व संकलनमा गरिरहेको काम चर्चा योग्य रहेको बताउँदै उनले अझै पनि परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था रहेको बताए ।

गणपति तुल बहादुर भण्डारीले सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटरले समुदायसँगको सहकार्यमा जिम्मेवारी निर्वाह गरिरहेको बताए । उनले लागुऔषध, अवैध सामानको ओसारपसार नियन्त्रणसँगै सीमा सुरक्षामा प्रतिवद्ध भई काम गरिरहेको बताएका छन् । सीमा सुरक्षाका लागि तालिम प्राप्त कुकुरको परिचालन गरिएको जानकारी दिए । सो अवसरमा उनले आफ्नो कार्यालयबाट भएका कार्यप्रगति सावजनिक गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ९, २०८२ बिहीबार  १ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]