कृषकलाई सुपारी खेती सम्बन्धी तालिम दिँदै मेचीनगर
मेचीनगर । सुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ । नगरपालिकाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई भारतबाट कृषिका विज्ञ व्यक्ति बोलाएर सुपारी खेती प्रर्वद्धन सम्बन्धी तालिम दिइरहेको छ ।
भारत सिलीगुडी निवासी कृषि विज्ञ डा.शरणकुमार रिजालले तालिममा सहभागी किसानहरुलाई प्रशिक्षण दिइरहेका छन् । मेचीनगर–१ का ४५ जना किसानलाई यही जेठ ६ र ७ गते सुपारी खेती सम्बन्धी तालिम उपलब्ध गराइएको छ ।
वडा नं.१ का वडाध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति संयोजक तिलजा देवान रहेकी थिइन् । यस्तै, मेचीनगर–१२, सहरेडाँगीको जनसुधार कृषक समूहको सभाहलमा सुरु सुपारी खेती सम्बन्धी तालिममा ३५ जना किसानहरु सहभागी रहेका छन् ।
तालिम उक्त वडामा शुक्रबारसम्म सञ्चालन हुनेछ । वडा नं.१२ का वडाध्यक्ष मधुसुधन निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रशिक्षक डा.रिजाल रहेका थिए । दुवै वडामा भएको कार्यक्रममा सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले सुपारी खेतीको उत्पादन, प्रर्वद्धन र व्यापारीकरणमा देखिएका समस्या र समाधानका उपाय बारे आफ्नो धारणा राखेका थिए ।
नगरपालिकाको कृषि शाखाले आयोजना गरेको तालिमहरुको सहजीकरण कृषि प्राविधिक नम्रता राईले गरिरहेकी छन् । त्यसैगरी जेठ १० र ११ गते मेचीनगर–९ का किसानहरुलाई उक्त तालिम प्रदान गरिने नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।
उक्त वडाहरुका कृषक समूहलाई ४० हजार नर्सरी दिएर विरुवा उत्पादन गरेका छन् । नगरपालिकाको ८० र किसानको २० प्रतिशत लगानीमा उक्त विरुवाहरु उत्पादन गरेका छन् । कृषक समूहले लागत खर्च राखेर बाहिर भन्दा सस्तो मूल्यमा किसानहरुलाई विक्री वितरण गर्ने तयारीमा रहेको कार्कीले बताए ।
नगरपालिकाले वडाहरुलाई पनि बजेट छुट्टाएर किसानलाई चाहिँने विभिन्न औजार, विउँ, तालिम र अनुदान दिएको छ ।