युवा संघका दुवै उम्मेदवार मेरा लागि समान हुन् : ओली
पोखरा । राष्ट्रिय युवा संघको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि भोली विहान ८ बजेदेखि मतदान हुने भएको छ । सुमन पुरीले अडान नछाडेपछि निर्वाचन हुने निश्चित भएको हो । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर विहानदेखि मतदान सुरु गर्ने तयारी गरेको छ ।
सर्वसम्मत नेतृत्व चाहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले अन्ततः निर्वाचनका लागि ‘तयार’ भएका छन् । उनले हालका अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहेका थिए । तर, सुमनले अडान नछाडेपछि मतदानमार्फत नेतृत्व चुनिन लागेको हो ।
निर्वाचन एमाले अध्यक्ष ओलीले सोमबार पार्टीका जिम्मवार नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नो लागि समान भएका सन्देश पठाएका छन् । ओलीको सन्देश सुनाउँदै एक एमाले नेताले भने, ‘मैले नेताहरुलाई युवा संघको नेतृत्व चयन गर्न भनेको हुँ । सहमति नहुँदा एउटा उम्मेदवार पार्टीको र अर्काे नहुने भन्ने हुँदैन । दुवै युवा संघकै हुन् । जसले जिते पनि अध्यक्ष स्वीकार्य छन् ।’
निर्वाचनबाट श्रेष्टता प्राप्त गर्ने व्यक्ति नै अध्यक्ष हुने उनको भनाइ थियो । ओलीले निर्वाचनबाट पराजित हुनेलाई पनि पार्टीमा उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेतृत्वका लागि थेबे र पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।