चारआली डिपोका कर्मचारी पुनर्वाहली हुनुपर्ने सर्वपक्षीय भेलाको माग
बिर्तामोड । झापाको मेचीनगर – १३ मा मंगवार विहान भएको सर्वपक्षीय भेलाले नेपाल आयल निगम चारआली शाखाबाट हटाइएका कर्मचारीहरुलाई विनासर्त पुनर्वाहलीको माग गरेको छ । भेलाले कर्मचारीहरुलाई काममा फर्काउनु माग गर्दै उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनायो ।
आयल निगम चारआली शाखामा नयाँ डिपो प्रमुख गिता सापकोटा आएपछि केही कर्मचारीहरु हटाइएको थियो । केहीलाई काममा फर्काए पनि सापकोटाले पाँच जना कर्मचारीलाई चार महिनादेखी काम विहीन बनाएको पीडित कर्मचारीहरुले जानकारी दिए । ३ वर्षदेखी १५ सम्म काम गरिसकेका कर्मचारीहरुलाई विना कारण हटाइएको कर्मचारीहरुको भनाई छ ।
मेचीनगर १३ का राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, टोल विकास संस्थाहरुले कर्मचारीको मागमा सामूहिक ऐक्यवद्धता जनाएका हुन् । वडाध्यक्ष कृष्ण सिग्देलको संयोजकत्वमा भएको सर्वपक्षीय भेलामा दलहरु, नागरिक समाज, समाजसेवी, टोल विकास संस्थाबाट इश्वर भूर्तेल, शरण लिम्बु, सोनाम तामाङ, लोकराज पराजुली, श्रीराम मरासिनी, मोहन लिम्बू, सन्देश न्यौपाने, तिलक श्रेष्ठ, निरु परियार र बद्री महत लगायतको सहभागिता रहेको थियो ।
आयल निगमको शाखा कार्यालयमा कार्यरत गोविन्द पाठक, अमोद भट्टराई, शान्ता पोखरेल, अस्मिता विक, चन्दकान्त लाल दासलाई कामबाट हटाइएको थियो ।