जेष्ठ १७, २०८२ शुक्रबार

लोकतन्त्रपछि उल्लेख्य विकास र प्रगति भयो : ज्ञवाली

विराटनगर। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि पनि उल्लेख्य विकास र प्रगति भएको बताउनुभएको छ। उहाँले आज कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा प्रगति व्यापक भएपनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले काम गरेका छौं राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ। खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ। यसको मूल कारण हाम्रो आचरण हो ।’

नेता ज्ञवालीले थप्नुभयो- ‘हामीले संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या छ यसलाई सुधार गरेर जाउँ। निराशा हटेर जान्छ।’

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामीले उल्लेख्य प्रगति गरेको र यसलाई आम जनतामा बुझाउनुपर्ने बताउनुभयो। उहाँले हाम्रो कार्यशैली र ढाँचामा प्रश्न उठेका बताउनुभयो । त्यसलाई निरूपण गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘राजनीतिक धरातल दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन यसमा कोही लाग्नुको औचित्य छैन यसको बहस पनि निरर्थक छ।’
अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरु जनता समक्ष राख्दै जनताको हितमा काम गर्नुपर्नेमा उहाँको जोड छ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता खालको विकासलाई हामीले नजरअन्दाज गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो-‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौं।’

नेता रिजालले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो। उहाँले सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्यो अनुसार काम नभएपछि जनतामा निराशा बढेको चर्चा गर्दै दलहरुबीच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने बताउनुभयो।

नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको उल्लेख गर्नुभयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बावजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने सन्दर्भमा आज गणतन्त्रको अवसर सम्भावना का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बुधबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]