गणतन्त्र नै सर्वोत्तम व्यवस्था हो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौतीका बाबजुद पनि गणतन्त्र नै सर्वोत्तम व्यवस्था भएको बताएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र नेपालले रोजेको र स्थापित गरेको सर्वोत्तम शासन व्यवस्था भएको बताए ।
उनले यसको मर्म र मूल्यमाथि भइरहेको प्रहारप्रति भने गहिरो चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् तर दलतन्त्रको एकाधिकार र सीमित नेताहरूको वरिपरि केन्द्रित शक्ति अभ्यासले ती स्तम्भहरू कमजोर बनेका छन्।”
नागरिकको असन्तुष्टि र निराशा बढ्दै जाँदा त्यसले व्यवस्थाको स्थायित्वमा समेत नकारात्मक असर पार्ने चेतावनी पार्टीले दिएको छ। रास्वपाले प्रमुख दलहरूले संविधान संशोधनको मुद्दालाई रणनीतिक रूपमा ओझेलमा पारेको आरोप लगाएको छ।