व्यवसायीले जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने
बिर्तामोड । सार्वजनिक यातायात ब्यवसायी र मजदुरहरुले आन्दोलनको तयारी गरेका छन् । यातायात ब्यवसायीहरुले आगामी जेठ १९ गतेदेखि सवारी साधन नचलाउने भएका हुन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको सर्कुलर अनुसार झापामा बिहीवार बसेको बैठक अनुसार ब्यवसायीहरुले आन्दोलनको तयारी गरेका हुन् ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, ढुवानी ब्यवसायी महासंघ र चार वटा मजदुर संघको आयोजनामा सयुक्त आन्दोलन गर्ने निर्णय भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा कोषाध्यक्ष धनबहादुर गिरीले जानकारी दिए । यातायात ब्यवासायी राष्ट्रिय महासंघ झापा जिल्ला समितिको कार्यालय बिर्तामोडमा बसेको बैठकले जेठ १९ गतेदेखि यातायात ठप्प पार्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतबाट संघसंस्थाको सम्पत्ती फुकुवा कार्यान्वय, राईड सेयरिङ्ग सञ्चालनको नाममा सरकारले गरेको निर्णयलाई बदर र मजदुरहरुको योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यन्वयन साथै संघसंस्था नवीकरणको उचित निर्णय नभएसम्म जेठ १९ गतेबाट सवारी साधन घर ग्यारेजमा थन्क्याउने निर्णय गरिएको बताइएको छ ।
बिर्तामोडमा बसेको बैठकले आन्दोलनका लागि सार्वजनिक यातायात बचाउ अभियान झापा जिल्ला मुल आयोजक समितिले चार वटा क्षेत्रगत उपसमिति र एउटा अनुगन तथा निर्देशन समितिसमेत गठन गरेको छ ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापाका सचिव हेमराज दाहालको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजालको प्रमुख आतिथ्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपमहासचिव देबीप्रसाद भट्टराईको बिशेष आतिथ्य रहेको थियो । त्यस्तै यातायात महासंघका केन्द्रीय सदस्य केशव बहादुर थापा, बिष्णु कुमार श्रेष्ठ, अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय उपमहासचिव हरि निरौला, यातायात मजदुर संघ झापा जिल्ला अध्यक्ष यादव ओलीको आतिथ्यता रहेको थियो ।