राजेन्द्र लिङदेनको वडामा गणतन्त्रवादीको शक्ति प्रदर्शन
हल्दीबारी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिवारी १ मा भव्य रुपमा गणतन्त्र दिवस मनाइएको छ । काठमाडौंमा देशभरका राजावादी भेला गरेर राजतन्त्रको माग गरिरहेका लिङ्देनको वडामा गणतन्त्रवादीहरुले भव्य सभा नै सम्पन्न गरेका छन् ।
हल्दीबारी गाउँपालिकामा रहेका पाँच गणतन्त्रवादी राजनीतिक दलहरूको संयुक्त आयोजनामा यस वर्षको गणतन्त्र दिवस भव्य रूपमा मनाइएको हो । कार्यक्रमको आयोजना वडा नम्बर १ स्थित गोल्धाप बजार माछाचोकमा गरिएको थियो ।
नेपाली कांग्रेस हल्दीबारीका सभापति गङ्गा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य माओवादी नेता मोहन टुडु र कोशी प्रदेशसभा सदस्य छविलाल चुडालको विशेष उपस्थिति रहेको थियो ।
माछाचोकबाट सुरु भएको र्याली गोलधाप बजार हुँदै हल्दिवारी वडा नम्बर १ को कार्यालय पुगेको थियो । र्यालीमा सहभागीहरूले नौमती बाजा बजाउदै, साकेला नृत्य मार्फत सांस्कृतिक झल्को समेत प्रस्तुत गरिएको थियो ।
वडा कार्यालयमा दीप प्रज्वलन गरेपछि र्याली पुनः माछाचोक फर्किएर कोणसभामा परिणत भएको थियो । कोणसभामा सुमन नेम्वाङ, टिका पौडेल, टिका पोखरेल, निराजन दाहाल र सोमनाथ पोर्तेलले गणतन्त्रको पक्षमा सम्बोधन गरेका थिए ।
नेकपा माओवादी केन्द्र हल्दीबारीका अध्यक्ष खगेन राजवंशीले स्वागत गरेको कार्यक्रममा नेकपा एमाले हल्दीबारी अध्यक्ष त्रिलोचन सापकोटाले सहजीकरण गरेका थिए ।
कार्यक्रम समापनपछि सहभागीहरू गोल्धापस्थित माछाचोकबाट हल्दिवारी गाउँपालिकाको प्राङ्गणमा गएर दीप प्रज्वलन गरेका थिए । कार्यक्रमका अध्यक्ष एवंम कांग्रेस सभापति गङ्गा प्रसाईले गणतन्त्र दिवसले जनताको अधिकार र लोकतान्त्रिक मूल्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।