जेष्ठ १८, २०८२ शनिबार

प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

काठमाडौँ – प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ ।
गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक सात जना विज्ञले करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारेको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिनुभयो ।
मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्तावेज तयार भएको उहाँले बताउनुभयो । सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुने दाबी गरिएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिनुभयो । “पहिले लिपिवद्ध भएका कृतिहरु विधागत रुपमा बेग्ला बेग्लै थिए । ती मध्ये पनि कतिपय अनुसन्धानात्मक चरित्र बोकेका थिएन । पछिल्ला न्यू मिडिया समावेश भएका अनुसन्धानात्मक विषयसहितको कृतिको त अभाव हुने नै भयो । यही अभाव र शून्यता हटाउने प्रयास स्वरुप यो कृति प्रकाशन भएको हो”, अध्यक्ष बस्नेतले भन्नुभयो ।

प्रकाशित मिति : जेष्ठ १७, २०८२ शुक्रबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]