जेष्ठ १८, २०८२ शनिबार

‘पार्टीको नीतिगत निर्णयहरूप्रति हाम्रो प्रतिबद्धता स्पष्ट हुनुपर्छ’

काठमाडौं, १६ जेठ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सो संगठनका नेताहरूको आर्थिक, सामाजिक र नैतिक आचरणमा प्रश्न उठ्ने खालका गतिविधि वा अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

अनेरास्ववियु केवल विद्यार्थी संगठन नभई नेकपा एमालेको नेतृत्व विकास गर्ने गौरवशाली पाठशाला भएको बडालले स्पष्ट पार्नुभएको छ । ‘पार्टीको नीतिगत निर्णयहरूप्रति हाम्रो प्रतिबद्धता स्पष्ट हुनुपर्छ’, अनेरास्ववियुमा ३२ वर्षे उमेर हदबन्दी लगाउने निर्णय पार्टीले गरेपछि केही विद्यार्थी नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेकोमा सचेत गराउँदै बडालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

‘हालै सामाजिक सञ्जालमा केही नेताहरूको नाम जोडेर गरिएको व्यक्ति केन्द्रित टिप्पणीहरूले संगठनको अनुशासन, एकता र मर्यादामा आघात पुर्‍याएको छ, यस्तो कार्यले संगठनको आन्तरिक एकतालाई कमजोर बनाउँछ र हाम्रा विरोधीहरूलाई लाभ पुर्‍याउँछ’, बडालले लेख्नु भएको छ ।

सामाजिक सञ्जाल आन्तरिक संगठनात्मक बहसको उचित थलो नभएको उहाँले स्पष्ट पार्नुभएको छ । कुनै पनि विवाद वा असन्तुष्टि भएमा तिनको समाधान पार्टीको प्रक्रिया अनुसार, आन्तरिक छलफल र समन्वयमार्फत गरिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

संगठनमा उमेरसम्बन्धी विषय पहिले देखिनै छलफलमा रहेको र यो कुनै एक व्यक्तिलाई लक्षित गरेर नगरिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । ‘त्यसैले भावनामा बहकिएर प्रतिक्रियात्मक बन्नुभन्दा विवेकयुक्त व्यवहार गर्दै पार्टी नेतृत्वप्रतिको विश्वास कायम गरौँ’, उहाँले सचेत गराउँदै लेख्नु भएको छ ।

सबैले आफ्नो भूमिकाबाट आत्मसमिक्षा गर्दै संगठनमा अनुशासन, जिम्मेवारी र एकताको संस्कृति बलियो पार्न अग्रसर बन्नको लागि उहाँले आह्वान गर्नुभएको छ । ‘एकता, विवेक र अनुशासन–यही हो हाम्रो पहिचान’, उहाँले लेख्नु भएको छ ।
यस अघि संगठनका महासचिव नरेश रोकायाले महाधिवेशन घोषणा भइसकेपछि पार्टीले ३२ वर्षको हदबन्दी लगाएको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउनुभएको थियो । उहाँले यसलाई फिर्ता लिन समेत माग गर्नुभएको थियो । सो विषयलाई लिएर अनेरास्ववियुका नेताहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेपछि अध्यक्ष बडालले सचेत गराउनुभएको हो ।

प्रकाशित मिति : जेष्ठ १७, २०८२ शुक्रबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]