संगीतकार गजमेर र शिक्षासेवी ढुंगानालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान
बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८१ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंगानालाई समर्पण गरिने भएकोछ । आगामी जेठ ३१ गते शनिवार एक कार्यक्रमका बिच उक्त सम्मान समर्पण गरिन लागेको हो ।
गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष वीरु दर्नालले सम्मानित ब्यक्तित्वद्वयको नाम छनौट गरिएको बताए । गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न आर्थिक अभाव भएसँगै युद्द कला र हातहतियार खरिद गर्न आवश्यक सल्लाह दिएर पृथ्वीनारायण शाहको सारथी बन्न सफल उनै ऐतिहासिक ब्यक्तित्व बिसे नगर्चीको नाममा स्थापित ‘विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान’ २०८० देखि प्रदान गर्न थालिएको अध्यक्ष दर्नालले बताए ।
समाजमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउनु हुने ब्यक्तित्वलाई यो सम्मान् समर्पण गरिने परम्पराको थालनी गरिएको फाउण्डेशनाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताए । यसलाई हरेक वर्ष निरन्तरता दिने बताईएकोछ ।
नेपाली चलचित्र बाँसुरी, कुसुमे रुमाल, लाहुरे, चिनो, दर्पण छायाँलगायत दर्जनौं चलचित्रमा कालजयी संगीत भरेर गजमेर नेपाली समाजमा लोकप्रीय छ्न् । दार्जिलिङ निवासी गजमेरले सन् ७० को दशकमा रेडियो नेपालमा काम गर्दै गर्दा भारतीय चलचित्र उद्योगमा प्रवेश पाएका थिए । नेपाली मादललाई बलिउडमा उनै गजमेरले पहिलो पटक परिचित गराउँदै स्थापितसमेत गराए । बलिउडका चर्चित संगीतकार आरडी वर्मन ९पन्चम दा० को विश्वास पात्र बनेर उनको मृत्युपर्यन्त साथ दिएका थिए ।
शिक्षा तथा समाजदेवी ढुंङाना साबिक मेची अञ्चलका स्थापित शिक्षा तथा समाजसेवी हुन् । नर्सरीदेखि डिग्रीसम्मको पढाई संचालन गर्ने झापा, मेची अञ्चल मात्रै नभएर नेपालकै पहिलो कलेज कनकाई क्याम्पस बिर्तामोडका संस्थापक हुन् ढुंगाना । शिक्षा क्षेत्रको विकास बाहेक विभिन्न सामाजिक क्षेत्रमा ब्यक्तिगत लगानी गरेर समाजसेवाको क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान रहेकोछ । मन्दिर, पुल, बाटो, कर्मयोग भवन, आर्यघाट तथा आराम गृह आदि निर्माण गर्न सहयोग गरेर झापा तथा शान्तिपुर, ईलाममा लोकप्रिय छन् ढुंगाना । तत्कालिन् शान्तिपुर गाउँ पञ्चायतको अन्तिम निर्वाचित प्रधानपञ्चसमेत भएका ढुंगाना जिवनको उत्तरार्धमा बिर्तामोड–२ स्थित निजी जमिनमा विभिन्न रुख विरुवा हुर्काएर पर्यावरण भए मानव जिवन सुरक्षित छ भन्ने अभियानमा लागेका छन् । उनले ड्रिमल्याण्ड फन पार्क सञ्चालन गरिरहेका छन् ।