जेष्ठ १८, २०८२ शनिबार

समाजमा रहेको कुसंस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

बिर्तामोड, १६ जेठ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् ।

शुक्रबार बिर्तामोड स्थित होटल सिदार्थमा महिला जनचेतना केन्द्रले आयोजना गरेको ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ सम्बन्धी झापा जिल्लास्तरीय सहजीकरण तथा समूह छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएकी हुन् ।

प्रमुख अतिथि उपसभामुख दनुवारले पितृसतात्मकदेखि समाजमा रहेका विभिन्न आवरणमा गरिने प्रवृति र कु–संस्कारहरु हटाउन अभियान कै रुपमा लान सके केहि हदसम्म बाल विवाह लगायतका घटनाहरुमा कमि आउने बताइन् ।
समाजको चेतना उठाउन यसका लागि सबै एकजुट भएर अभियान चलाउन आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बाल विवाह न्यूनीकरण होइन अन्त्य नै गर्ने गरी लाग्नु पर्ने बताइन् ।

विशेष गरेर झापाको दक्षिणि भेगमा यो प्रथा कै रुपमा रहेकोले यसलाई जरैदेखि उखालेर फ्याक्ने गरी अभियान सञ्चालन गर्नु पर्ने र स्थानीय तहहरुले पनि सोही अनुसार काम अगाडि बढाइरहेको उनको भनाई छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कानूनले २० वर्ष भन्दा कम उमेर पुगेकोलाई बाल विवाह भनेकोले यसको जो कोहीले उल्लघंन गरे जरिवानासहित कारवाही हुने बताए । कानूनले २० वर्ष नपुगी विहे गरे ३ वर्ष कैद र ३० हजार जरिवाना तोकेको छ ।

‘गरिवी र चेतनाको अभावले अभिभावकहरुले समय नपुगी विहे गर्ने चलन छ’, सिडिओ अधिकारीले भने–‘छोरीहरुले भन्नु पर्छ, पढेर मात्र विहे गछौँ । हाम्रो आफ्नो निर्णय अभिभावकहरुले मान्नु पर्छ । त्यसो भए मात्र बाल विवाह रोक्न सकिन्छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले पनि वाल विवाह न्युनिकरण गर्न प्रहरीको तर्फबाट सक्दो प्रयास र सरोकारवाला निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने बताएका थिए ।

सोही अवसरमा सहजीकरण तथा समूह छलफलमा प्रशिक्षकहरु बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, रोष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, नेपाल बार एशोसिएशन झापा सदस्य कविता बाँस्तोला पाठक, प्रहरी निरीक्षक प्रविण श्रेष्ठले बालबालिकाको अवस्था, प्रहरी कार्यालयमा मुद्दा दर्ता, बालअधिकार, नीति तथा कार्यान्वयन, चुनौतीहरु, वाल विवाहका कारण, वालविवाह गर्दा आउने समस्या, वालवविाह न्युनिकरण गर्न बालबालिकाको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए ।

समूह छलफलका प्रशिक्षकहरुलाई मेचीनगर नगरपालिका महिला विकास अधिकृत जयन्ती खरेल लगायतले प्रश्नहरु सोधेका थिए ।

कार्यक्रममा आएका किशोर किशोरीहरुले कविता मार्फत बाल विवाह अन्त्य हुनु पर्छ भन्ने शैली प्रस्तुत गरेका थिए । विद्यार्थीहरु मासिया वेगम, जेनिशा आचार्य र हेमन्त पण्डित कविता बाचन गरेका थिए । काँकरभिट्टा माविका अनुसन्धान ढुंगेलले कविताको सहजीकरण गरेका थिए ।

महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बाल विवाह न्युनिकरण गर्न, महिला हिंसा अन्त्य गर्न लगायतका सामाजिक काममा सक्रिय रहेको बताइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले उपसभामुख दनुवारलाई बाल विवाह हटाउन सदनमा नै पुर्याईदिन अनुरोध गरिन् ।

उनले संस्थाले झापाको कचनकवल, बाह्दशी गाउँपालिका र मेचीनर नगरपालिकामा नागरिकहरुलाई अर्गानिक कृषि खेतीका लागि जैविक मल प्रयोग गर्न सचेतना दिइरहेको बताइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कचनकवल जानकी माविकी किशोरी समूह सदस्य पुनम वेगमले, सञ्चालन धुलाबारी माविकी विद्यार्थी श्रष्टि विष्ट र शुष्मा राजबंशीले गरेकी थिइन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०८२ शुक्रबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]