शिवसताक्षी ५ का विपन्न नागरिकलाई झुल वितरण
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टे जन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ।
वडाले शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा ५० विपन्न परिवारलाई झुल वितरण गरिएको हो । वडाले वडा शिलिङ बजेटबाट विनियोजित ५० हजार रकम बराबरको झुल वितरण गरेको जनाएको छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विपन्न समुदायलाई झुल वितरण गरेका हुन् । उनले वडाले विपन्न समुदायलाई झुल वितरण गरेर प्रशसनीय काम गरेको बताए ।
वडाध्यक्ष पाश्वनले भने, “बर्खायामको सुरुआतसँगै लामखुट्टेको प्रकोप बढ्न सक्छ । डेंगु, मलेरिया, जस्ता लामखुट्टेबाट सर्ने रोगहरूबाट स्थानीयहरूलाई जोगाउनका लागि हामीले यो कार्यक्रम ल्याएका हौ । विशेष गरी आदिवासी समुदायको बाहुल्यता रहेको वडामा लक्षित समूहका रूपमा उनीहरूलाई प्राथमिकतामा राखिएको छ ।”
झुल वितरणका लागि घरपरिवारको आर्थिक अवस्था, स्वास्थ्य जोखिमको अवस्था र स्थानीय सिफारिसको आधारमा लाभग्राही छनोट गरिएको वडाध्यक्ष पासवानले बताए । कार्यक्रममा स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले लामखुट्टे जन्य रोगका लक्षण, रोकथामका उपाय र व्यक्तिगत सरसफाइका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा वडा सचिव, स्वास्थ्यकर्मी, स्थानीय शिक्षक, सामुदायिक प्रतिनिधिहरू र लाभग्राहीहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। वडाले आगामी दिनमा अन्य स्वास्थ्य र सरसफाइ सम्बन्धी अभियानलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।