गौरादहमा दुई वर्षमा २३ किमी सडक कालोपत्रे
झापा – गौरादह नगरपालिकाले गत दुई वर्षमा २३ किलोमिटर सडक कालोपत्रे गरेको छ । पालिकाका सबै वडाका अधिकांश सडक कालोपत्रे भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले आर्थिक वर्ष २०८०-८१ देखि हालसम्मका अवधिमा नगरपालिकाको आफ्नै बजेटबाट २३ किमी सडक कालोपत्रे भएको बताउनुभयो । उहाँले हालसम्ममा पालिका, सङ्घ र प्रदेश सरकारको बजेटबाट १०३ किमी सडक कालोपत्रे भएको बताउनुभयो ।
आफ्नै बजेटबाट चालू आवमा ११ किमी र गत आवमा १२ किमी सडक कालोपत्रे भएको हो । सो अवधिमा नगरपालिकाभरि ११६ किमी सडकमा उच्चस्तरीय ग्रावेल भएको उहाँले जानकारी दिनुुभयो ।
“भौतिक पूर्वाधारमा धेरै काम भएका छन्,” उहाँले भन्नुभयो, “अझै काम गर्न बाँकी छ । यही रफ्तारमा काम भयो भने केही वर्षभित्र मै पालिकाका सबै क्षेत्रका सडक कालोपत्रे नै हुन्छन् ।”
नगरपालिकाले दुई वर्षको अवधिमा ४० सडक कालोपत्रे, २५९ वटा सडक उच्चस्तरीय ग्रावेल, २२ वटा सडक नियमित सम्भार, १३ वटा कच्ची सडक निर्माण, आठ वटा झोलुङ्गे पुल निर्माण, ७३ वटा कल्भर्ट निर्माण, ११ वटा पक्की नाला निर्माण, १५ वटा ह्यूमपाइप जडान, १८८ वटा सामुदायिक भवन निर्माण, ६९ वटा विद्यालय भवन निर्माण, १६ वटा खानेपानी पाइप विस्तार र २४ वटा नदी नियन्त्रण बाँध निर्माण गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार नगरपालिकाद्वारा सञ्चालित गौरवका आयोजनामा प्रगति माध्यमिक विद्यालय र डोरामारी माविको प्रतिभवन रु तीन करोड ३४ लाखका दरले निर्माण सम्पन्न भइसकेको छ ।
महारानीझोडा साना किसान सहकारी संस्थाको रु पाँच करोड १२ लाखमा, साना किसान गोदाम घर रु एक करोड ४२ लाखमा, चान्दु खोलाको पुल रु चार करोड ५६ लाखमा निर्माण सम्पन्न भएका छन् ।
उहाँले रु १२ करोड ५९ लाख ७९ हजारको लागतमा १५ बेडको नगर अस्पताल, रु छ करोड २८ लाखको भानु मार्ग सडक र रु चार करोड ५६ लाखको किस्ने खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।