पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
झापा । नेपालमा मनसुन भित्रिएलगत्तै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू भएको छ । बिहीवारराति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको ठूलो पानीले धरान–धनकुटा सडक खण्डको सागुरीगढी गाउँपालिका-६ फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।
त्यस्तै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढीपहिरोका घटना भएको र त्यस क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको छ ।
नेपालमा मनसुन भित्रिने सरदर अवधिभन्दा १५ दिनअगावै मनसुन भित्रिएको हो । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
झापा, इलाम, मोरङ र सुनसरी जिल्ला भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायत नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
अबका तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने देखिएको छ ।