जेष्ठ १९, २०८२ आईतबार

अर्जुनधारामा साकेला नृत्य प्रदर्शन

इन्द्रकुमार राई

शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा किराँतीहरुको महान चाड उभौली पर्वको अवसर पारेर साकेला नृत्य प्रदर्शन गरिएको छ । नगरसमितिद्वारा आज वडा नम्बर – ९ स्थित नमूना सामुदायिक वन स्थित साकेला थान परिसरमा आयोजित कार्यक्रममा साकेला नाच प्रदर्शन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं किराँत राई यायोक्खा झापाका अध्यक्ष गणेश चाम्लिङ राईले मुन्धुम पार्कको तीन ढुङ्गे चुल्होमा आगो बालेर नृत्य महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटनकै क्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतले सुम्निमा – पारुहाङको प्रतिमामा माल्यार्पण गरेका थिए ।

सोही अवसरमा ज्येष्ठ नागरिक लालमाया राई, भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताद्वय कर्ण बहादुर तामाङ र नरेन्द्र कोयु राईलाई सम्मान–पत्रसहित सम्मान गरिएको थियोे । कार्यक्रममा आयोजकसहित जिल्ला भरिका १२ वटा किराँत राई यायोक्खा साकेला नृत्य टोलीको सहभागिता रहेको साँस्कृतिक विभागका संयोजक सिद्धिमान राईले जानकारी दिए ।

किराँत राई यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय साम्पाङ राईको सभापतित्व र सचिव सिंह बहादुर चाम्लिङ राईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि गणेश राई, किराँत राई विद्यार्थी संघ झापा प्रतिनिधि अर्जुन कुमार राई, सम्मानित व्यक्तित्व एवं नेपाल आदिवासी, अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषदका अध्यक्ष कर्ण तामाङ ,नेवा देय दवु अर्जुनधाराका प्रतिनिधि भीम कुमार श्रेष्ठ , किराया सल्लाहकार सदस्य क्याप्टेन शिवकुमार राई , वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राई लगायतले मन्तव्य राखेका थिए ।

भाषा हराए ,लिपि हराउँछ ,लिपि हराए ,संस्कार हराउँछ ,संस्कार हराए ,धर्म हराउँछ ,धर्म हराए ,संस्कृति हराउँछ ,संस्कृति हराए , हामीहरु आफै हराउँछौं भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १८, २०८२ शनिबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]