ईपिएस मार्फत कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता
बिर्तामोड । ईपिएस मार्फतका प्रवासी नेपालीहरूको परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम कार्यक्रम आयोजना गरेको अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के – हामी, ह्याप्पी माइग्रेशन परियोजनाका सम्पर्क संयोजक सञ्जीव चापागाईंले बताए।
कार्यक्रमका प्रशिक्षक सहकारी विज्ञ चूडामणि ओझाले सहभागीहरुलाई वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी गराएका थिए । उनले सहभागीहरुलाई आफ्ना आफन्तले कोरियामा श्रम गरेर पठाएको रकमको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि नेपालमा बस्ने परिवारका सदस्यहरुले अपनाउनुपर्ने आवश्यक ज्ञान र सीपबारे जानकारी प्रदान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के – हामी, ह्याप्पी माइग्रेशन परियोजनाका सम्पर्क संयोजक सञ्जीव चापागाईले कोरिया आप्रवासी कामदारका अभिभावक र आफन्तको दायित्व र जिम्मेवारी बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।कार्यक्रममा अंकुर नेपालका पूर्व उपाध्यक्ष सञ्जीव चापागाईले औचित्यमाथी प्रकाश पार्दै कोरिया गएकाहरूले गरेका विभिन्न गतिविधिबारेको श्रृव्यदृश्य सामग्रीसहित प्रस्तुत गरेका थिए ।
अंकुर नेपालका झापा संयोजक राम पौड्यालको अध्यक्षता तथा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोरिया रिटर्नी युवराज गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
दक्षिण कोरियामा विभिन्न पेशा व्यवसायमा संलग्न भई नेपाल फर्किएर स्वदेशमै बस्न चाहने नेपालीहरुलाई एकताबद्ध गर्दै एक आपसमा व्यवसायिक सहयोग आदनप्रदान लगायत समुन्नत राष्ट्र निर्माणमा एकल वा सामुहिक लगानी तथा नवप्रवर्तनमा टेवा पुर्याइ कोरिया रिटर्नीहरुलाई सामाजिक, व्यवसायिक तथा आर्थिक रुपमा नेपालमै पुनःस्थापित हुन सहयोग पुर्याउने उद्देश्यले अंकुर नेपालको स्थापना गरिएको अंकुर नेपालका पूर्व उपाध्यक्ष सञ्जीव चापागाईंले बताए ।
नेपाली युवामार्फत गणतन्त्र कोरियामा आर्जित सिप र पुँजीलाई उचित व्यवस्थापन तथा लगानीमार्फत स्वदेशमै रोजगारीको खोजी गर्दै फर्किएका युवालाई सरकारले चासो नदेखाएको बताउँदै उनले व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने काम अंकुर नेपालले गरेको जनाए ।
कोरियाली रोजगारी नेपालका लागि अत्यन्त महत्त्वपूर्ण वैदेशिक रोजगारीको विकल्प भएको बताउँदै उनले अहिलेसम्म अंकुर नेपालले रोजगार अनुमति प्रणाली (इपिएस) लगायतका कोरियाली रोजगारीबाट सुरक्षित स्वदेश फिर्ता भएका तथा पुनस्र्थापनाको क्षेत्रमा काम गरेको जनाए ।
अंकुर नेपालले कोरियाली रोजगारीबाट फर्किएर उत्पादनमूलक, कृषि तथा पशुपालन क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सफल उद्यमीहरू तयार पारेको उनको भनाई छ।
कार्यक्रममा कोरिया रिटर्नी मदन शिवाकोटीले कोरिया गएर आफूले भोगेको अनुभव सुनाएका थिए। कार्यक्रममा सहभागी कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुले कार्यक्रम फलदायी भएको बताए।
कार्यक्रमको सहजीकरण दमन्ता कोइरालाले गरेकी थिइन्।