जेष्ठ २१, २०८२ मंगलबार

बिर्तामोडमा सुनचाँदीका गहना बनाउन सिक्दैछन् युवा

बिर्तामोड । सुनचाँदीका गरगहना बनाउने र फलामका काम गर्ने विश्वकर्मा समुदायको पुर्खौली पेशामा अहिले सबै समुदायको आकर्षण बढ्दो छ । विश्वकर्माले मात्रै गहगहना बनाउने, व्यवसाय गर्ने परम्परागत मान्यता विस्तारै तोडिदै गएको छ ।

झापाको बिर्तामोडमा न्यू श्रद्धा गहना उद्योगले गत वर्षदेखि कालिगड उत्पादन गर्दै आएको छ । सिटिइभीटीबाट मान्यता प्राप्त उद्योगले यो वर्ष पनि १९ जना युवाहरुलाई प्रारम्भिक सुनचाँदी कालिगड तालिम प्रदान गरिरहेको छ । जहाँ विश्वकर्मा समुदायभन्दा फरक समुदायका युवा युवतीहरु पनि तालिम लिइरहेका छन् । ०७५ सालमा दर्ता भएको उद्योगले गत वर्षदेखि तालिम सञ्चालन गरेको हो ।

स्थानीय तहको साझेदारीमा १२ जना युवाहरुले गहना बनाउन सिकिरहेका छन् । भद्रपुरका ३, अर्जुनधाराका ४ र गौरादहका ५ जना युवाहरुले तालिम लिइरहेको सञ्चालक सोमनाथ पोर्तेलले जानकारी दिए । उनका अनुसार पालिकाहरुले युवाहरुलाई सीप सिकाउन आर्थिक सहयोग गरेका छन् । प्रारम्भिक तहको तालिमले उनीहरुलाई व्यवसाय सञ्चालनका लागि ज्ञान समेत हुने पोर्तेलको भनाई छ । अहिलेको सिकाईबाट सामान्य गहनाहरु बनाउन सक्नुहुन्छ, पोर्तेलले भने , ‘प्रारम्भिक तालिमबाट सिक्री, औंठी, ब्रास्लेट, कुण्डल, मुन्द्रा, बाला बनाउन सक्नुहुन्छ । अरु पोख्त हुनलाई एड्भान्स तालिमको जरुरी पर्छ ।’

उद्योगले गहना बनाउन पाठ्यक्रम नै बनाएर ३९० घण्टाको तालिम सञ्चालन गर्दै आएको छ । एक जना अनुभवी गहना बनाउने व्यक्तिबाट तालिम प्रदान गर्दै आएको पोर्तेलले जानकारी दिए ।

स्थानीय तहको सहयोग विना ७ जना युवाहरु सोही तालिम लिइरहेका छन् । २२ हजार रुपैयाँ तिरेर तालिम लिनेहरुले जीवन चलाउन सक्ने सञ्चालक पोर्तेलको भनाई छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख पोर्तेलले गहना बनाउने सीप सिक्नलाई दलित, गैरदलित युवाहरुमा आकर्षण रहेको जानकारी दिए । गत वर्ष १४ जनाले तालिम लिएका थिए । त्यसमध्ये धेरैले काम गरिरहेका छन् ।

अर्जुनधारा – ५ का छविलाल रायले गहना बनाउने सीप सिकेर आफ्नै ज्वेलरी सञ्चालन गर्ने योजना बताएका छन् । सुनचाँदीको व्यवसायमा चासो दिदैं आएका रायले नगरपालिकाको सहयोगमा तालिम लिइरहेका छन् । उनले बैशाख मसान्तबाट तालिम सुरु गरेका थिए । फुलीबाट तालिम सुरु गरेका राय सिक्री बनाउन सिकिरहेका छन् । लेखामा आफूलाई दक्ष मान्ने रायले भविष्यमा ज्वेलरी व्यवसाय कै लागि तालिम लिएको बताए । कुनै काम गर्न जातधर्मको सीमा नहुने भन्दै उनले थपे, ‘शिक्षा र सीप भएको मान्छेले संसारमा कहिल्यै दुःख पाउदैन ।’

प्रकाशित मिति : जेष्ठ १९, २०८२ आईतबार  ४ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]