जेष्ठ २३, २०८२ बिहीबार

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा

नेपालगञ्ज, २० जेठ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताउनुभयो ।
महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गर्नुभयो । उहाँले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गर्नुभयो ।
“अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन”, उहाँले भन्नुभयो । महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सङ्घ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै सङ्घमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गर्नुभयो । महामन्त्री थापाले नेपालको सङ्घीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै उहाँले कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गर्नुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेशसका कांग्रेस सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेललगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर नभएको बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ मंगलबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]