देवकोटाको ‘पागल’ कविता र एमालेको झोले अभियान
गगन ढकाल
नेपाल एउटा यस्तो देश हो जहाँ समय–समयमा सामाजिक सञ्जालमा विभिन्न अभियानहरू चलिरहन्छन् । तर, धेरै अभियानहरू राजनीतिक हुने गरेका छन् । सुरुवाती चरणमा जे सुकै विषयको उठान गरिएको भए पनि अन्तिम कुरा राजनीति मै पुग्ने गरेको छ । नेपालमा वि.सं. २०७४ र ०७९ को निर्वाचनमा ‘नो नट अगेन’का अभियान चले । ०७४ मा खासै उपलब्धि हासिल गर्न नसेको यस अभियानले ०७९ सम्म आइपुग्दा निक्कै ठूलो आकार लियो । स्थानीय तहको निर्वाचनमा यो अभियानले धनगढीमा गोपाल हमाल, काठमाडौँमा बालेन्द्र साह र धरानमा हर्क साम्पाङलाई जन्मायो । यति मात्र उपलब्धीले यो अभियान रोकिएन ०७९ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकै पटक राष्ट्रिय पार्टी बनाइदियो । पार्टी सभापति रवि लामिछानेलाई गृहमन्त्री ।
यस्ता अभियान सँगसँगै उदाएका नयाँहरूले विशेषतः पुराना भनिने (एमाले, काङ्ग्रेस र माओवादी) का नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई ‘झोले’ उपनाम दिएर सामाजिक सञ्जालमा जलिल गरे । उनीहरूले पुरानालाई सामाजिक सञ्जालमा यति खेदे , ती दलको समर्थक हुँ भनेर मानिसले सञ्जालमा भन्न नसक्ने अवस्था सिर्जना गराइदिए । ती दलका समर्थकहरूलाई भ्रष्ट नामाकृत गरिदिए, उनीहरूकै कारण देशमा केही भएन भनेर निराशाको खेती फैलाए ।
स्वतन्त्र भनिएका केही व्यक्ति र रास्वपासहितले समाजमा यति धेरै घृणा र निराशा फैलाएकी राप्रपा जस्तो पुरातनवादी दक्षिणपन्थी दललाई राजा ल्याउन सकिन्छ कि भन्ने आशा जगाइदियो । दुर्गा प्रसाईंहरूलाई उग्र बनाइदियो ।
राजावादीले राजा ल्याउने दिवा सपना देखिरहेकै बेला एकाएक प्रधानमन्त्री समेत रहेका नेकपा एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चमै ‘म झोले हुँ, जनताको झोले’ भनिदिए । प्रधानमन्त्रीको यस अभिव्यक्ति पछि सामाजिक सञ्जाल झोलामय बनिरहेको छ । यही झोलामय वातावरणमा प्रधानमन्त्री ओलीले ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’ लेखिएको टेम्पलेट सहितको फोटो सञ्जालमा पोस्ट गरे । यसले सञ्जालमात्र हैन एमालेजनलाई पुरै तताएको अवस्था छ ।
एमालेका हजारौँ नेता कार्यकर्ताले ओलीले प्रयोग गरेको टेम्पलेट सहितको फोटो पोष्ट गरिरहेका छन् । हाल एमाले जन सामाजिक सञ्जालमा झोले हुनुमा व्यस्त छ । हिजोसम्म पुराना राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई उडाउन प्रयोग गरिने शब्दलाई एमालेले आफ्नो ब्रान्ड बनाइरहेको छ ।
मलाई भने किन किन एमालेको अघोषित झोले अभियान नेपाली कविताको महानहस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाले पागल शीर्षकको कविता सिर्जनाको मनोभावना जस्तै विक्षिप्तताबाट उब्जिएको हो कि जस्तो लाग्छ । लक्ष्मीप्रसाद देवकोटाले पागल कविता लेख्नुको पछाडि पनि एउटा क्रुद्ध मनोभाव थियो । उनले आफूलाई पागल भनिएकोमा रिसाएर पागल भन्नेहरुलाई व्यङ्ग्य गर्दै पागल कविता लेखेका थिए । एमालेले पनि सञ्जालमा आफूहरूलाई हतोत्साहित गर्न झोले शब्द प्रयोग गर्नेलाई व्यङ्ग्य गर्दै झोले अभियान सञ्चालन गरेको छ ।
झोले अभियानको पृष्ठभूमि माथि नै उल्लेख गरिसकेको छु । एक पटक देवकोटाको पागल कविता रचनाको पृष्ठभूमि पनि हेर्नुहोस् ।
‘पागल’ कविता रचनाको प्रेरणा देवकोटाले कहाँबाट पाए भन्ने कुराको विवरण जनकलाल शर्माको पुस्तकमा पाइन्छ । शर्माको किताबमा भनिएअनुसार भारतका महापण्डित राहुल साङ्कृत्यायन सन् १९५३ को सुरुमा काठमाडौँ आएका थिए । राहुलले त्यस बेला शर्मा र देवकोटासँग भेटेर आवश्यक कुरा सोधपुछ गरी एउटा ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको लेख छपाएको पाइन्छ । यसमा देवकोटा पागल भएको र उनलाई राँचीको पागलखानामा राखेर उपचार गरी फर्काएको कुरा पनि राहुलले उल्लेख गरेका थिए । यो कुरा देखेपछि राहुल साङ्कृत्यायनलाई यस प्रकारको गलत सूचना दिने भनेर जनकलाल शर्माप्रति देवकोटाले क्रोध देखाएर ‘पागल’ कविता सिर्जना गरेका हुन् । देवकोटाले पत्रिकामा छापिएको समाचार पढ्नासाथ त्यसै दिन घरमा गई ‘पागल’ भन्ने कविता लेखेर अर्को दिन बिहान शर्मालाई बोलाएर सुनाए । तर पागल कविताको रचनामा साङ्कृत्यायनको लेख मात्र कारण चाहिँ होइन यो त एक तत्कालीन कारण मात्र थियो ।
यसरी विछिप्त बनेका देवकोटाले ‘पागल’ कविताको सुरुवात नै ‘जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ।’ बाट सुरु गरेका छन् । उनले यस कवितामा आफूलाई पागल भनिएकोमा रुष्टता व्यक्त गर्दै पागल भन्नेहरूकै मानसिक अवस्थामाथि गहिरो प्रश्न उठाएका छन् । कवितामा कविले आफू शब्दलाई देख्ने, दृश्यलाई सुन्ने, बासनालाई स्वाद लिने तथा आकाशभन्दा पातलो वस्तुलाई पनि छुन सक्ने अभिव्यक्ति दिएका छन् । यस्तै लोकले अस्तित्व स्वीकार नगर्ने वस्तुहरूलाई पनि आफूले स्वीकार गर्ने बताएका छन् । यसै गरी अरूको महापण्डितलाई उनले महामूर्ख देख्ने गरेको पनि अभिव्यक्ति दिएका छन् ।
पागल कविता नेपाली साहित्यको एक कालजयी कविता हो । यसभित्रको व्यङ्ग्य गम्भीर र गहिरो छ । यस कविताको समीक्षा आफैँमा एक आलेख बन्ने हैसियत राख्दछ । मैले त बस पागल कविताको रचना गर्दाको देवकोटाको विक्षिप्त मनोभाव र वर्तमान अवस्थामा झोले लगायतका शब्दरूपी तिरले एमालेको शक्तिक्षीण बनाइरहेको अवस्थाले विक्षिप्त बनेका अध्यक्ष ओलीले आफूलाई झोले स्वीकार्नुको मनोभाव उस्तै रहेको पाएको छु । न त देवकोटाले कविता मार्फत आफूलाई पागल भनेका हुन् न त अध्यक्ष ओली लगायत एमाले जनले आफूलाई झोले भनेका हुन् । यी दुवैले समाजमा व्याप्त रहेका स्वघोषित विद्वानहरूले स्थापित गर्न खोजेका अराजकता, निराशा र झुटको खेतीलाई तमचा मारेका हुन् । गहिरो आलङ्कारिक व्यङ्ग्य गरेका हुन् ।
हाल एमालेले झोले अभियान मार्फत पुनः सत्ता हत्याउन प्रयत्नरत अन्तिम शाह वंशीय राजा ज्ञानेन्द्रलाई अब तिम्रो निरङ्कुशता स्वीकार्य छैन, तिम्रो वंशको दासत्व स्वीकार्न २१औं शताब्दीका नेपालीजन तयार छैनन् भन्ने सन्देश दिएको हो । यस्तै कथित नयाँ भनिएकालाई तिमीबाट समतामूलक, समावेशिता सहितको सन्तुलित विकास सम्भव छैन भन्ने सन्देश दिएको हो । साथै दल विहीन प्रतिनिधिहरूलाई व्यक्तिवादी अराजकता तथा भिडतन्त्रले हैन देश सहभागिता, समानता र सहकार्यले बन्छ भन्ने सन्देश दिएको हो ।
देवकोटाले आफ्नो कवि क्षमता मार्फत ‘पागल’ कवितालाई कालजयी बनाए जस्तै एमालेले झोले अभियान मार्फत दिएको सन्देश डेलिभर गर्न निक्कै चुनौतीपूर्ण रहेको छ । धेरै गहिरा र गम्भीर सन्देश बोकेको झोले अभियानको भारलाई एमालेले थेग्न सके ‘संवृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुने देखिन्छ ।